भाेजपुरमा आँशु चुहाउँदै स्वास्थ्यकर्मीको विदाई

भोजपुर । सदरमुकाम नजिकैको टक्सारमा २८ वर्ष एकै कार्यालयमा सरकारी सेवा गरि सरुवा हुनुभएका स्वास्थ्यकर्मी अहेब रामकृष्ण दाहालको विदाईमा सहभागि सबै भावविहल भएका छन् । लामो समयसम्मा एउटै कार्यालयमा काम गरेका दाहालको विदाई कार्यक्रममा उपस्थित सबैजना रुन थालेपछि कार्यक्रमस्थल नै सुनसान बनेको थियो ।
२०४६ सालबाट ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्त भई स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका ५१ वर्षिय दाहालको काठमाण्डौं सरुवा भएपछि उहाँ हाल कार्यरत् टक्सार स्वास्थ्य चौकीमा स्थानीय, अगुवाहरुले विदाई कार्यक्रमको आयोजना गरेका हुन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य तथा टक्सारका अगुवा धिरेन्द्र श्रेष्ठले दाहाल र उहाँको टिमले आफ्नो ठाउँको स्वास्थ्य क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म निरन्तर रुपमा राम्रो काम गर्नुभएको बताउनुभयो । ‘समितिमा निरन्तर बसेर म उहाँसँगै काम गरे विद्यालय, स्थानीय निकाय लगायतका सरोकारवाला निकायसँग समन्वय गरेर टक्सारको स्वास्थ्य संस्था र यसले दिने सेवाको विषयमा उहाँ चिन्तित भइरहनुहुन्थ्यो ।’ श्रेष्ठले विदाईमा भन्नुभयो । स्थानीय यशोधरा उच्च माविका प्रअ किशोरकुमार ताम्राकारले दाहालमा आफूले जागिरे मानसिकता कहिले नपाएको बताउनुभयो ।
विदाई कार्यक्रममा उपस्थित महिला स्वास्थ्य स्वयंसेवीकाहरुले अहेब दाहाललाई मायाको चिनो स्वरुप टक्सारको करुवा प्रदान गरेका थिए । यसअघि दाहालको सरुवा आम्तेक स्वास्थ्य चौकीमा हुँदा टक्सारवासी झण्डै १ हजार जनाले सामुहिक हस्ताक्षर गरि सरुवा वदरको मागसहित जिल्ला स्वास्थ्य कार्यालयमा निवेदन दिएका थिए । स्थानीय दुर्गा रणपहेंलीले राम्रो काम गर्नेलाई राम्रो भन्न सक्नुपर्छ हामीले सरुवा भइसकेका मान्छेलाई पनि कामको मूल्यांकनको आधारमा फेरी त्यहि ठाउँमा फर्काएको बताउनुहुन्छ ।
जागिरको उत्तराद्र्धमा आएर आफ्नो व्यवहारिक समस्याका कारण सरुवा हुनुभएका दाहालले आफूलाई स्थानीयले दिएको सम्मानले थप जिम्मेवारी बढेको बताउनुभयो । उहाँले आगामी दिनमा जहाँ गएर काम गर्दा पनि नागरिकको सेवामा यस्तै समर्पित भएर लाग्ने बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा ४ वर्ष प्रमुख भएर जानुभएका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले दाहालको कामको लगावप्रति आफू पनि प्रभावित भएको बताउनुभएको छ ।