भोजपुर । बडा दशैं तथा शुभदिपावलीको पावन अवसरमा शुभकामना प्रदान गर्दै भोजपुरको स्थानीय टुडिखेलमा भाद्र ३१ गते शनिबारका दिन डाईमण्ड कन्सर्ट–२०७४ गर्ने भएको छ ।
दर्जनभन्दा बढी ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा हुने उक्त कार्यक्रममा मेगास्टार नामबाट परिचीत सर्वाधिक लोकप्रिय गायक राजेश पायल राई, मेरी बास्सैबाट नाम कमाएका तक्मे बुढा विल्सन बिक्रम राई, पप आधुनिक गितबाट नाम कमाएका गायक प्रमोद खरेल , छोटो समयमा नाम कमाएका पप गायक कमल खत्री साथमा गायक तथा मोडल जुनु प्रसाईं, गायक तथा संगितकार श्याम सामसोङ राई, गायक तथा मोडल योगेन्द्र राई, गायक तथा संगितकार दावा के शेर्पा, गायिका तथा संगितकार चन्द्रकला राई, गायक रमेश बान्तवा, गायक सुरेन्द्र पुलामी मगर, गायक विभुषण राई र भोजपुर आईडल सिजन–२ विजेता पुर्ण बहादुर राईले भोजपुर तताउने भएका छन् ।
डाईमण्ड नेपालद्वारा सञ्चालित डाईमण्ड डान्स एण्ड ड्रामा क्रु भोजपुरको प्रशिक्षण भवन निर्माण सहयोगार्थ डाईमण्ड कन्सर्ट–२०७४ हुन लागेको डाईमण्ड नेपालका सचिव निमाराज तामाङले जानकारी दिए । कार्यक्रमबाट प्राप्त लाभांशले भोजपुरको कुना कन्दरामा रहेका नव प्रतिभाहरुलाई राष्ट्रको एक नक्षत्र कलाकार निर्माण गर्नका लागि खर्च गर्ने तामाङले बताए । कार्यक्रमको लागि देश विदेशमा छरिएर बसेका समस्त नेपालीहरुले सहयोग गरिरहेको जानकारी दिदै तामाङले सबैलाई अझै सहयोगको लागि आव्हान गरेका छन् ।
कार्यक्रमको उदेश्यको बारेमा थप बताउदै तामाङले भने भोजपुरबाट राष्ट्रिय स्तरका कलाकार धेरै जन्मेका भएतापनि भोजपुरकै लागि लोकप्रिय नभएको प्रति दुख व्यक्त गरेका छन् । अबको प्रतिभाहरुले भोजपुरबाट नै संघर्ष गरेर सबैको प्रिय बन्नुपर्नेमा जोड दिदै भोजपुरमा कलाकारिताको क्षेत्रलाई बृहत् बनाउन समेत कार्यक्रम आयोजना गरिएको बताएका छन्।