अर्थमन्त्री कार्कीले भोजपुरबाट निर्वाचन क्षेत्र सुनसरी सार्न २५ लाख कांग्रेस नेतालाई बाँडे

काठमाडौ । भोजपुरबाट पटक–पटक चुनाव हारेका अर्थमन्त्री कार्की यस पटक भने सिंहदरबारसम्म छिरेका कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन क्षेत्र सार्न सुनसरी कांग्रेसका नेतालाई २५ लाख बाडेको खुलासा भएको छ ।
सुनसरीका कांग्रेस नेता अयुव अन्सारी र उपेन्द्र कटुवाललाई मोटो रकम दिएर कार्कीले सुनसरी–४ मा आफ्नो सिफारिस लगाएका थिए । कार्कीले आफ्नोमात्र नाम पार्नका लागि यति ठूलो रकम खर्च गरेको चर्चा सुनसरी कांग्रेसभित्र आएकोे छ ।
अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको मात्रै नाम सिफारिस गर्नका लागि ठूलो रकमको चलखेल भएपछि स्थानीय नेता रामबहादुर बस्नेतलगायतले सिधै विरोध गर्ने गरेका थिए । अर्थमन्त्री कार्कीको नाम सुनसरीबाट सिफारिस गर्ने भएपछि नेताले विरोधका लागि प्रेस विज्ञप्ति समेत तयार पारी विरोध गरेका थिए । छलफलका क्रममा विरोध गरी कार्कीको नाममात्र सिफारिस हुन नदिने दबाब परेपछि कार्कीसहित आधा दर्जनको नाम सिफारिस गरिएको छ ।
सोही सिफारिसलाई देखाउँदै तयार भएको विरोध र विद्रोहको विज्ञप्ति तत्कालका लागि रोकाइएको छ । ‘पद र पैसाको खेलले जे पनि गर्न पाइँदैन, हामी निर्णयका आधारमा विरोध गर्ने या समर्थन गर्ने भन्नेमा पुग्नेछौं ।’, कांग्रेस स्रोतले भन्यो ।
महेन्द्रनगर गाउँ इकाईले अर्थमन्त्री कार्कीसहित बस्नेत, जमिल अख्तर अन्सारी, बाबुराम आचार्य, डिल्लि कार्की, बुनुलाल यादवको नाम सिफारिस गरेको छ । ‘हामीले यसमा पनि आपत्ति जनाएका छौं, कार्कीको सुनसरीबाट होइन, भोजपुरबाट सिफारिस हुनुपर्छ ।’, स्रोतले भन्यो,‘सुनसरीमा कांग्रेस छैन भन्ने हिसाबले गरिएको सिफारिसमा नेतृत्वको दलबलले कार्कीलाई नै टिकट दिन सक्छ । यसो भयो भने विरोध हुनेछ ।’
अन्सारी र कटुवालले अर्थमन्त्रीमार्फत पाएको रकमले वैठकमा उपस्थित रहेका सदस्यहरू खरिद गरी कार्कीको नाममा बहुमत समर्थन जुटाउने तयारी भएको थियो । तर, उक्त तयारीको चिरफार भएपछि कांग्रेस सदस्यहरूले त्यसको विरोध गरेका थिए ।
गाउँ इकाईबाट कार्कीसहितको नाम सिफारिस भएपनि केन्द्रमा पठाउँदा चलखेल हुनसक्ने जनाइएको छ । उक्त चलखेल भए र सिफारिस नाम कांग्रेस केन्द्रिय कार्यालयमा नपुगे आन्दोलन र विद्रोहको तयारी समेत भएको बताइएको छ । ‘हामी अख्तियारी गरिरहेका छौं, सिफारिस नाम केन्द्रमा नपुगे त्यसको विरोधमा हामी उत्रिन बाध्य हुनेछौं ।’, स्रोतले भन्यो ।
गाउँ इकाईबाट सिफारिस भएका नामहरूमाथि छलफल गर्दै कार्कीको नाममात्र जिल्ला समितिले केन्द्रमा पठाउने तयारी समेत गरेको छ । ‘जिल्लाले त्यस्तो काम गरे सुनसरीमा कांग्रेसभित्र विद्रोह हुन्छ, गाउँको निर्णय जिल्लाले उल्टाउन सक्तैन । सवैको नाम पठाउनुपर्छ ।’, स्रोतले भन्यो ।