धनकुटा-पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनलमा नृत्यतर्फ भोजपुरकी निश्मा श्रेष्ठ विजयी भएकी छन् भने गायनतर्फ धनकुटाका सिजन भट्टराई विजयी भएकाछन् । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा भट्टराई र श्रेष्ठ विजेता भएका हुन् ।
यसैगरी, गायनतर्फ धनकुटाका स्वीकृति राई दोस्रो र इम्बाहाङ राई तेस्रो भएका छन् । नृत्यतर्फ तेह्रथुमको द राइजिङ गल्स र धनकुटाको स्क्वार्ड समुहले तृतीय स्थान प्राप्त गरे । रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा गायनतर्फ १२ र नृत्यतर्फ १४ प्रतिस्पर्धी सहभागी रहेको कार्यक्रम संयोजक सुमन योगीले बताए । दुवै विधातर्फका विजेताले २ लाख नगद र ५ लाख बराबरको जीवन बिमा गरिएको छ ।
यस्तै, उपविजेतालाई २ लाखको जीवन बिमा हुने आयोजकले जनाएको छ । गत साउन ४ देखि सुरु भएको अडिसनमा ४१७ भाग लिएका थिए । कोशी प्रदेशका १४ जिल्लाबाट विभिन्न चरणमा भएको अडिसनबाट गायन र नृत्यतर्फका २६ जना फाइनलमा पुगेका थिए ।
प्रतियोगितामा निर्णायकबाट ५० र भोटिङबाट ५० प्रतिशत अङ्क प्रदान गरिएको थियो । गायनतर्फ कृष्णभक्त राई, जुनी खालिङ र महेश राई तथा नृत्यतर्फ सुमन योगी, युसिन यस्माली र विशेष गुरुङ निर्णायक रहेका थिए ।