एप्पल कम्पनीले पहिलोपटक रातो रंगको आइफोन सार्वजनिक गरेको छ । एप्पलले आइफोन सेभेन तथा आइफोन सेभेन प्लसमा रातो रंगका विशेष संस्करण सार्वजनिक गरेको हो ।
एप्पलको दशक लामो एड्स विरुद्धको रातो अभियान अन्तरगत नै उसले रातो रंगका आइफोन सार्वजनिक गरेको बताइएको छ । रातो रंगका आइफोनको मूल्य ७४९ डलर पर्ने बताइएको छ ।
एप्पलले ल्याएको विशेष संस्करणको रातो आइफोन सेभेन प्लस १२८ तथा २५६ जिबी गरी दुई मेमोरी भेरिएन्ट्समा उपलब्ध हुनेछ ।
विभिन्न देशमा रातो रंगका आइफोन सेभेन र सेभेन प्लसको बिक्री मार्च २४ बाटै हुनेछ ।
एप्पल कम्पनीले आफ्ना अन्य केही पूराना संस्करणका आइफोन तथा आइप्याडलाई पनि नयाँ मूल्य तथा मेमोरी भेरिएन्टमा पुनः पेश गरेको छ ।
उसले आइफोन एस ई को स्टोरेज क्षमता बढाएर पेश गरेको छ भने ९:७ इन्चको आइप्याड प्रो को नयाँ सस्तो मोडेल लञ्च गरेको छ ।
यसअघि १६ र ६४ जिबी मोडेलमा उपलब्ध आइफोन एस ई अब ३२ र १२८ जिबी मोडेलमा पाइनेछन् । त्यस्तै आइप्याड मिनी फोर अब १२८ जिबी इन्टरनल स्टोरेजको साथमा उपलब्ध हुनेछ ।
एप्पलले ल्याएको ९ः७ इन्चको सस्तो आइप्याड प्रोमा रेटिना डिस्प्ले रहेको छ । ३२ जिबी स्टोरेज रहेको यसमा केबल वाइफाइ कनेक्टिभिटीवाला मोडेलको मूल्य केही कम पर्नेछ र वाइफाइ सँगै सेल्यूलर कनेक्टिभिटी भएको मोडेलको मूल्य केही बढि पर्ने बताइएको छ ।
यो आइप्याडको आल्मुनियम बडी छ भने डिस्प्ले रिजोलुसन २०४८ गुणा १५३६ पिक्सेल रहेको छ । यसमा एप्पलको ६४ बिटको ए नाइन प्रोसेसर तथा एम नाइन मोसन कोर प्रोसेसर पनि रहेको छ ।