भोजपुर । उत्तरी कुलुङ्ग गाविस वडा नं–५ का तीनदाजुभाईले आफ्ना स्वर्गिय आमाबुवाको स्मृतिमा विद्यालयमा पक्की छात्राबास भवन निर्माण गरिदिने भएका छन् । छोराहरु रमेश कार्की, अर्जुन कार्की र विदुर कार्कीले बिरेन्द्र मा.वि, कुलुङ्गको लागि आफ्ना स्वर्गिय बुवा लोकबहादुर कार्की र आमा थलिमाया कार्कीको नाममा ५० लाखको २ तले पक्की छात्राबास भवन निर्मांण गरिदिने भएका हुन् ।
भवन निर्माणपछि आमाबुबाको नाम मिलाएर लोकथली छात्राबासको नामकरण गरिने छोरा अर्जुन कार्कीले बताए । ‘टाढाबाट विद्यालय आउने समस्या भएका विद्यार्थीहरुलाई छात्राबास बनेपछि सहज हुने प्रधानाध्यापक डेढराज बस्नेतले बताए ।’ छात्राबास बन्ने भएपछि विरेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु उत्साहित भएका प्रधानाध्यापक बस्नेतले बताए ।
०७२ सालको विनाशकारी भुकम्पले ध्वस्त पारेको विद्यालयको पठनपाठन गर्ने भवनको ठाउँमा नयाँ पक्की छात्राबास भवन निर्माण हुन लागेको हो । वि.स.२०१८ सालमा स्थापना भएको विद्यालयमा हाल एउटा कार्यालय भवन, पुस्तकालय, सभाहल, विज्ञान प्रयोगशाला, ९ वटा पठनपाठन हुने भवनहरु रहेका छन् ।
०२४ सालमा तीनभाईकै हजुरबुवाले विद्यालयका लागि साढे तीन रोपनी जग्गा विद्यालयका लागि निःशुल्क दान गरेका थिए ।