काठमाडौ । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकार बनेको दुई वर्षभित्रै राजधानी रहेको उपत्यकाका तीन शहर काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लालाई मिलाएर मेघा नगरको रुपमा विकास गर्ने जनाएको छ ।
यसैगरी स्थानीय निर्वाचनको पहिलो वर्षमै अधिकारसम्पन्न प्राधिकरण स्थापना गरी राजधानीको सुधार, विस्तार र विकास गर्ने र विस्तारित राजधानीमा एउटा मेघा शहरसहित १० वटा अत्याधुनिक स्याटलाइट शहरको विकास गर्ने प्रतिबद्धता एमालेले जनाएको छ ।
स्थानीय निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा उपत्यकाको विकासका लागि ‘इतिहासको धनी संस्कृतिको खानी स् स्वच्छ, सुन्दर र आधुनिक राजधानी’ शिर्षकमा राजधानी र उपत्यकाको विकासका लागि अगाडि सारेको योजना यस्ता छन्ः
- संसारकै रमणीय स्थानमा अवस्थित र नेपालको जनताको सभ्यता एवम् संस्कृतिको केन्द्रका रूपमा रहेका काठमाडौं उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री शहरका रूपमा सुधार तथा विकास गरिने छ ।
नेकपा(एमाले) को सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गरिनेछ । उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमूनाका नगरका रूपमा विकसित गर्ने गुरुयोजना निर्माण गरिने छ ।
काठमाडौँ उपत्यका लगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्ची समेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गरिने छ ।
स्थानीय निर्वाचनको पहिलो वर्षमै अधिकारसम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरिने छ । गुरुयोजना बमोजिमको दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण शुरु गरिने छ । विस्तार गरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर विकास गरिने छ ।
स्थानीय निर्वाचनको पहिलो वर्षदेखि नै राजधानी उपत्यकालाई स्वच्छ, प्रदूषणमुक्त र आकर्षक सहरको रूपमा विकास गर्न विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिइने छ ।
आगामी ३ वर्षभित्र गाडी पार्किङका लागि उपत्यकाका विभिन्न स्थानमा बहुतले भवनहरू निर्माण गरिने छ । राजधानीका सबै सडकहरूमा पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरपालिकाद्वारा सञ्चालित सुविधासम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गरिने छ ।
आगामी ३ वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कशपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने छ ।उपत्यकाका भूकम्प अप्रतिरोधी तथा अव्यवस्थित संरचनाहरूलाई उचित मुआब्जा दिई अधिग्रहण गरिने छ र तिनमा बस्ने परिवारहरूलाई स्याटलाइट शहरमा स्थानान्तरण गरिने छ ।
राजधानीमा भित्री, बाहिरी र बृहत् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिने छ । सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गरिने छ ।
राजधानीलाई विद्युत् तथा पिउने र धुने पानीको अभाव नहुने व्यवस्था सुनिश्चित गरिने छ । फोहोर, धुलो, हिलो र सबै किसिमका प्रदूषणबाट मुक्त गरिने छ । - प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा तालको विकास गरिने छ । ती तालहरूको पानी तथा उपत्यका बाहिरका नदीहरूबाट लिफ्ट प्रणालीबाट पानी प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गरिने छ । चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गरिने छ ।
वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिने छ । नदीका दुवै किनारामा ५०-५० मिटर ग्रिनवेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गरिने छ । वाग्मती नदीमा ठाउँ– ठाउँमा बाँध हालेर ताल विकास गरिने छ । वाग्मती नदी र यसका शाखाहरूको स्वच्छता, पवित्रता र नदी प्रवाहक्षेत्रलाई कानूनद्वारा संरक्षण गरी उल्लंघन गर्नेलाई दण्ड जरिवाना लाग्ने व्यवस्था गरिने छ ।
राजधानीका नदी र तालहरूमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाइने छ । सबै ढलहरूबाट आउने पानीलाई प्रशोधन गरेर मात्र नदी, नाला र तालहरूमा मिसाउने व्यवस्था गरिने छ । पशु छाडा छोड्न नपाइने व्यवस्था गरिने छ ।
राजधानीमा दैनिक ५ लाख बाह्य र आन्तरिक पर्यटकहरू रहन सक्ने गरी आवश्यक पूर्वाधार विकास गरिने छ ।
राजधानीमा रहेका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरूलाई भूकम्प प्रतिरोधक बनाई संरक्षित गरिने छ । क्षतिग्रस्त संरचनाहरूलाई पूर्वावस्था अनुरूप भूकम्प प्रतिरोधक हुने गरी पुनर्निर्माण गरिने छ ।
राजधानीलाई स्वच्छ, सुन्दर, आकर्षक र पर्यावरण मैत्री बनाउनका लागि विकसित विज्ञान र प्रविधिलाई प्रयोग गरिने छ । फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गगलहरूलाई जोड्ने गरी एकीकृत विकास गरिने छ । यो क्षेत्रलाई खुल्ला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गरिने छ ।
राजधानीमा रहेका सबै बधशालाहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने छ । खानयोग्य प्रमाणित गरिएको माछा मासु मात्र राजधानीमा बिक्री गर्न पाइने छ । माछा–मासु खुल्ला रुपमा बिक्री वितरण या ढुवानी गर्ने तथा तोकिएको ठाँउभन्दा बाहिर पसल खोल्ने प्रवृत्तिलाई दुरुत्साहन र अन्त्य गरिने छ ।
खाद्य पदार्थ, तरकारी तथा फलफूलहरूको बिक्री वितरणमा स्वस्थकर मापदण्ड लागू गरिने छ । सबै किसिमका जैविक खाद्यवस्तु मिसावट गर्ने, अखाद्य र विषाक्त भएका खाद्यवस्तु बिक्री गर्ने तथा खुवाउने माथि कडा कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्तिको व्यवस्था लागू गरिने छ ।
राजधानी लगायत सबै सहर र गाउँका पूर्वाधारहरू वातावरण मैत्री तथा अपाङ्गता– मैत्री हुनेछन् । पैदलयात्रु र साइकलयात्रुहरूका लागि अलग लेनको सुनिश्चितता गरिने छ । रातो सूर्यबाट