भोजपुरमा धुम्रपानविरुद्ध होर्डिङ्ग बोर्ड

भोजपुर । स्वास्थ्य अधिकार सूर्ति नियन्त्रण जिल्ला सञ्जाल, भोजपुरले जिल्ला स्वास्थ्य कार्यालय, भोजपुर, सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि जिल्लास्तरीय अनुगमन समिति, भोजपुर, न्यायशील असल शासन क्लब, भोजपुर र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को सहयोगमा भोजपुर सदरमुकामस्थित लोकतान्त्रिक चौकमा पहिलो पटक धुम्रपानविरुद्धको सचेतनामुलक होर्डिङ्ग बोर्ड राखेको छ ।
‘सूर्ति होइन, जीवन रोजौं!’ भन्ने मुल नाराका साथ जिल्लामा पहिलो पटक राखिएको स्वास्थ्य सन्देशमुलक होर्डिङ्ग बोर्डमा धुम्रपान तथा सूर्ति सेवनबाट मानव शरिरका विभिन्न भागमा लागेको क्यान्सरको तस्वीरहरु अंकित गरिएको छ भने मेरो वर्ष २०७४ अभियान अन्तरगतको म स्वस्थ, मेरो देश स्वस्थ नारा अनि ५ वटा प्रतिबद्धताहरु समेत समावेश गरिएको छ । धुम्रपानविरुद्धको होर्डिङ्ग बोर्डहरु सदरमुकामस्थित टुँडिखेल क्षेत्र र शनिवारे हटिया क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय, भोजपुरका सूचना अधिकारी राजुकुमार श्रेष्ठले बताउनु भयो ।