रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ ।
मतदान भइरहेको वेला माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण मतदान स्थगित भएको हो । झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए ।
१ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको भुषालले जनाएका छन ।