काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ ।
स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ ।
माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्नेभएका छन् । महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने छन् ।
महराले सम्हाल्ने मन्त्रालयको टुंगो लागिसकेको छैन । तर, माओवादीले महरालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाउनुपर्ने माग गरेको छ ।
महरा माओवादीभत्र सदाबहादर मन्त्री बन्न पाउने भाग्यमानी ठहरिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री एवं अर्थमन्त्री थिए ।
उर्जामन्त्रीका रुपमा काम गर्दा लोडसेडिङ हटाउन भूमिका खेलेका कारण चर्चा कमाएका जनार्दन शर्मा पनि दोहोर्याएर मन्त्री बन्न पाउने भाग्यमानी ठहरिएका छन् ।
माओवादीभित्र गृहमन्त्रीका रुपमा अग्नि सापकोटा र शक्ति बस्नेत लगायतको चर्चा चले पनि धेरै नेताहरुको रोजाइमा जनार्दन परेका छन् ।
त्यसो त माओवादी नेता टोपबहादुर रायमाझीले पनि उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी पार्टीभित्र गरेका थिए । तर, उर्जामन्त्री हुँदा मुकेश काफ्लेसँग मिलेर कुलमान घिसिङलाई जिम्मेवारीविहीन पारेको र लोडसेडिङ बढाएको आरोपका कारण टोपबहादुरको छवि माओवादीभित्र राम्रो छैन ।
रायमाझी सीमांकन हेरफेर र संविधान संशोधन प्रस्तावमा पार्टी नीतिको खुलेआम विरोध गर्दै केपी ओलीसँग नजिक बनेको आरोप पनि माओवादी पार्टीभित्र लाग्दै आएको छ । यही कारणले गर्दा टोपबहादुर महाराभन्दा पछि परेका छन् ।
त्यसो त महरा पनि माओवादीभित्र खासै सक्षम र सफल नेता मानिँदैनन् । तर, थोरै सांसदहरु भएका कारण उनी सदाबहार मन्त्री भइरहन पाउने भाग्यमानी ठहरिएका छन् ।
पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि पूर्वअनुभवका आधारमा गृहमन्त्री बनाइनुपर्ने माओवादीभित्र केही नेता कार्यकर्ताले लबिङ गरेका छन् । तर, पहिलोचरणको स्थानीय चुनावमा बस्नेतको गृहजिल्ला जाजरकोटले राम्रो नतिजा ल्याउन नसकेको र जनार्दन शर्माले रुकुममा सबै सीट जितेका कारण बस्नेत पार्टीको छनोटमा पछि परेको स्रोतले बतायो । अनलाइनखबर