भोजपुर । जेठ १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि पूर्वको पहाडी जिल्ला भोजपुरमा सबै दलले उम्मेदवारी टुंग्याएका छन्। दुई नगरपालिका र ७ गाउँपालिकासहित जम्मा ९ स्थानीय तह रहेको भोजपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाले उम्मेदवारी टुंग्याएका हुन्।
भोजपुरमा एमालेबाहेक कांग्रेस, माओवादी केन्द्र र फोरमबीच विभिन्न चार तहमा तालमेल भएको छ। यहाँ एमाले भने सबै तहमा एक्लै चुनाव लड्ने भएको छ।
एमालेलाई रोक्न कांग्रेस–माओवादी–फोरमको गठबन्धन
भोजपुरका ९ मध्ये चार स्थानीय तहमा कांग्रेस, माओवादी र फोरमले तालमेल गर्ने भएका छन्। एमालेलाई रोक्न तीन दलले हतुवागढी, ट्याम्के–मैयुङ गाउँपालिकामा तालमेल गरेका हुन् भने साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा कांग्रेस र फोरमबीच तालमेल भएको छ।
जसअनुसार हतुवागढी गाउँपालिकामा कांग्रेस, माओवादी र फोरमले प्रमुख पदमा कांग्रेसबाट मदन खुलाललाई साझा उम्मेदवार बनाएका छन्। उपप्रमुखमा भने कांग्रेस र फोरमले माओवादी केन्द्रकी उम्मेदवार सुनिता किरातीलाई सघाउने सहमति भएको छ।
त्यस्तै, ट्याम्के–मैयुङ गाउँपालिकाको प्रमुख पदमा भने तीन दलले साझा उम्मेदवारका रूपमा फोरमका रामसिं राईलाई उम्मदेवार बनाएका छन्। त्यहाँ उपप्रमुखमा भने कांग्रेसबाट सरोज बस्नेतलाई साझा उम्मेदवार बनाइएको छ।
यता, साल्पासिलिछो गाउँपालिकामा भने कांग्रेस र फोरमबीच तालमेल भएको छ। जहाँ कांग्रेसका तर्फबाट प्रमुख पदमा महेश राईलाई उम्मेदवार बनाइएको छ। त्यस्तै, उपप्रमुखमा भने कांग्रेसले फोरमका वीरबहादुर राईलाई सघाउने सहमति भएको छ।
त्यस्तै, रामप्रसाद राई गाउँपालिकामा पनि कांग्रेस र फोरमबीच नै तालमेल भएको छ। जहाँ कांग्रेसका तर्फबाट दिनेश कार्कीलाई प्रमुख पदको साझा उम्मेदवार बनाइएको छ। उपप्रमुखमा फोरमका तर्फबाट लक्ष्मी राईलाई उम्मेदवार बनाइएको छ।
नगरपालिकामा यस्ता छन् उम्मेदवार
दुई नगरपालिका रहेको भोजपुरमा एकमा राप्रपाबाहेक सबैमा ठूला दलले उम्मेदवारी दिएका छन्। जसअनुसार जिल्लाको सदरमुकामसमेत रहेको भोजपुर नगरपालिकामा नेकपा एमालेले गणेश श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा ममिता राईको नाम टुंगो लागेको छ।
भोजपुर नपामा माओवादी केन्द्रले शरणकुमार तामाङलाई मेयरमा लडाउने निर्णय गर्दा मनिमा राई उपमेयरकी उम्मेदवार बनेकी छन्।
यस नपामा हालसम्म ठूलो दल कांग्रेसले भने उम्मेदवार तोक्न सकेको छैन। यहाँ आकांक्षी धेरै हुँदा कांग्रेसले उम्मेदवार तोक्न नसकेको हो।
त्यसैगरी, अर्को नगरपालिका षडानन्दमा नेपाली कांग्रेसले वीरबल राईलाई मेयरमा उठाउने निर्णय गरेको छ। त्यहाँ उसले सीता श्रेष्ठलाई उपमेयरमा अघि सारेको छ।
उक्त नपामा एमालेले मेयरमा सुरेन्द्र उदासलाई लडाउने निर्णय गर्दा उपमेयरमा मेरिका राईको नाम टुंगो लागेको छ। त्यहाँ माओवादीले मेयरमा भीम तामाङ र उपमेयरमा प्रमिला राईलाई उठाउने निर्णय गरेको छ।
यस्ता छन् गाउँपालिकाका उम्मेदवार
कांग्रेस, माओवादी र फोरमले तालमेल गरेका हतुवागढी र ट्याम्के–मैयुङ, साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा एमाले एक्लै मैदानमा उत्रिएको छ। जसअनुसार हतुवागढीमा एमालेले प्रमुखमा प्र्रेमकुमार राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यहाँ उसले चन्द्रमा राईलाई उपप्रमुखमा लडाउने निर्णय गरेको छ।
त्यस्तै, ट्याम्के–मैयुङमा एमालेका तर्फबाट ध्रुवराज राई प्रमुख पदका उम्मेदवार बनेका छन्। त्यहाँ एमालेले इन्द्रावती राईलाई उपप्रमुखमा अघि सारेको छ।
त्यस्तै, साल्पासिलिछोमा प्रमुखमा खगेन्द्र राईलाई उठाउने निर्णय गरेको एमालेले उपप्रमुखमा धनमाया राईलाई अघि सारेको छ।
त्यस्तै, रामप्रसाद राई गाउँपालिकामा एमालेका तर्फबाट विजय राई प्रमुख पदको उम्मेदवार बनेका छन्। त्यहाँ कृतिका राईलाई उपप्रमुखमा अघि सारिएको छ।
यता, अरुण गाउँपालिकामा कांग्रेसले प्रमुखमा गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा विनिता ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यहाँ एमालेले नारायण घिमिरेलाई प्रमुख र कविता राईलाई उपप्रमुखमा अघि सारेको छ। माओवादीले प्रमुखमा विमल खड्का र उपप्रमुखमा विना राईलाई अघि सारेको छ।
अर्को गाउँपालिका पौवादुम्मामा नेपाली कांग्रेसले प्रमुख पदमा महिलालाई अघि सारेको छ। त्यहाँ उसले शिशिरा राईलाई प्रमुख र मनोज कर्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।
उक्त गाउँपालिकामा एमालेले प्रमुख पदमा किरण राई र उपप्रमुखमा ज्योत्सना राईलाई अघि सारेको छ। माओवादीले प्रमुखमा नगेन्द्रबहादुर बस्नेत र उपप्रमुखमा सम्झना राईलाई उठाउने निर्णय गरेको छ।
यस्तै, आमचौक गाउँपालिकामा कांग्रेसले रविन राईलाई प्रमुख र भगवती राईलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। त्यहाँ एमालेले बहादुर राईलाई प्रमुख र दिव्यकला राईलाई उपप्रमुखमा अघि सारेको छ।
उक्त गाउँपालिकामा माओवादीका तर्फबाट प्रमुख पदमा अशोक राई र उपप्रमुखमा सीता राई भिड्ने पक्का भएको छ ।
राप्रपाको दुई नगरपालिकामा मात्रै उम्मेदवारी
भोजपुरमा कमल थापा नेतृत्वको राप्रपाले दुई नगरपालिकामा मात्रै उम्मेदवारी दिएको छ। उसले गाउँपालिका छाडेर नगरमा मात्रै उम्मेदवारी दिएको हो।
जसअनुसार भोजपुर नगरपालिका राप्रपाले मेयरमा केशरबबहादुर श्रेष्ठलाई उठाउने निर्णय गरेको छ। त्यहाँ उसले पार्वती श्रेष्ठलाई अघि सारेको छ। अर्को नगरपालिकामा षडानन्दमा राप्रपाका तर्फबाट राजकुमार तामाङ मेयरको उम्मेदवार बन्दा उपमेयरमा जितकुमारी राईको नाम टुंगो लागेको छ।
चर्चामा मैयुङ–ट्याम्के
दोस्रो चरणको निर्वाचनामा भोजपुरको ट्याम्के–मैयुङ गाउँपालिका सर्वाधिक चर्चा तथा चासोको केन्द्र बनेको छ। यहाँ एमालेलाई रोक्न कांग्रेस, माओवादी र फोरमले गठबन्धन बनाएरै लागेका कारण पनि चर्चामा छ। उनीहरूले प्रमुख पदमा तालमेल गरेर एमालेलाई रोक्ने रणनीति लिएका हुन्।
जसअनुसार तीन दलले साझा उम्मेदवारका रूपमा फोरमका रामसिं राईलाई मैदानमा उतारेका छ। यहाँ उपमेयरमा भने कांग्रेसका उम्मेदवार छन्। जसलाई फोरम र माओवादीले सघाउने सहमति छ। ट्याम्के–मैयुङमा एमालेका तर्फबाट ध्रुवराज राई एक्लै उत्रिएका छन्। यसरी हेर्दा यस गाउँपालिकामा तीन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।
तीन दलबाट साझा उम्मेदवार बनेका रामसिं राईलाई जिल्लमा पुराना र प्रभावशाली नेता मानिन्छ। उनी पूर्वएमाले हुन्। दोस्रो संविधानताका उनी एमाले विद्रोह गरेर संघीयमा पुगेका थिए। राजनीतिक अनुभव र प्रभावका हिसाबले उनलाई ‘बलियो’ उम्मेदवार मनिएको छ। त्यसमा उनलाई कांग्रेस र फोरमले समेत सघाउने भएपछि उनी थप बलियो बनेका हुन्।
यता, एमालेले भने तीन दलसँग एक्लै भिड्न आफ्ना जुझारु तथा युवा नेता ध्रुवराज राई पर्याप्त हुने ठानेको छ। राई स्थानीयस्तरमा ‘असल’ नेताका रूपमा चिनिन्छन्। उनी विद्यार्थी राजनीतिबाट आएका नेता हुन्।
यस्तो पृष्ठभूमिबीच ट्याम्के–मैयुङमा सबैको आँखा परेको छ। दुवैका तर्फबाट ‘बलिया’ उम्मेदवार भएकाले कसले बाजी मार्ला भन्ने अड्कलबाजी आममतदातामा सुरु भइसकेको छ।
ट्याम्के–मैयुङमा कूल ११ हजार १ सय ३५ जना मतदाता छन्। जिल्लाभरमा १ लाख ५ हजार ५ सय ४७ मतदाता छन्। यहाँ जिल्लाभरमा कूल मतदानदास्थल ८७ र केन्द्र १ सय ४१ रहेका छन् ।
(नेपालखवर)