भोजपुर । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ यो भनाइ कलाकारिता क्षेत्र पनि पनि लागू हुन्छ । तर, यहाँ यस्ता कलाकार पनि छन्, जो कलाकारितामै समर्पित भएर पनि ओझेलमै छन् । यस्तै एक उदाहरण हुन्, राज किङ वाइबा अर्थात् सुकबहादुर तामाङ ।
कलाकारिता क्षेत्रमा राज किङ वाइबाका रुपमा चिनिएका उनी तामाङ समुदायमा चर्चित छन् । उनले कलाकारिता क्षेत्रमा एक दशक पूरा गरेका छन् । तर, यहाँसम्म आइपुग्दा खासै मूलधारको मिडियामा आएका छैनन् । तामाङ भाषाका चलचित्र र म्युजिक भिडियोका लागि राज चर्चित नाम हो । एक किसिमले भन्ने हो भने उनी तामाङ समुदायका लागि राजेश हमाल नै हुन् । जतिखेर नेपाली चलचित्र क्षेत्रमा अभिनेता हमालको जगजगी थियो, त्यतिखेर हमालको नामै काफी थियो । यस्तै, वर्तमान सन्दर्भमा राजको नाम पनि यस्तै छ । तर, उनको कलाकारिताको योगदानलाई मिडियाले उठान गरेको पाइँदैन । निर्देशक, मोडल र अभिनेतासमेत रहेका राजले हालसम्ममा एक सय पचासभन्दा बढी तामाङ भाषाका गीतको भिडियो निर्देशन गरिसकेका छन् भने करिब उति नै सङ्ख्यामा मोडलिङ ।
तामाङ समुदाय अर्थात् भाषाका लागि यत्तिको सङ्ख्या पक्कै कम होइन । तर, उनले गरेका ती कामको मूल्याङ्कन अहिलेसम्म तामाङ समुदायभित्रमात्र सीमित छ । त्यसैले उनी भन्छन्, ‘म आफ्नो समुदायमा त चिनिएकै छु । तर, अब आमनेपाली दर्शकमाझ पनि चिनिन चाहन्छु ।’ धादिङ, सत्यदेवी–६ का राजले केही तामाङ चलचित्रको निर्देशनसँगै अभिनय पनि गरेका छन् । २०६३ सालबाट नृत्य कोरियोग्राफर हुँदै चलचित्र निर्देशकसम्म आइपुगेका राजले ‘टङ्जीम बर्जी’ नामक तामाङ चलचित्रको निर्देशन गरेका छन्, जसमा उनैले अभिनय पनि गरेका छन् । उनको अभिनय यात्रा भने २०४८ सालबाट हो । उनी भन्छन्, ‘त्याभन्दा अघि कोरियोग्राफी र निर्देशनमात्र गर्थे ।’
चलचित्र ‘टङ्जीम बर्जी’ मा राजकै कथा तथा पटकथासमेत रहेको छ । यसरी कोरियोग्राफी, निर्देशन र अभिनयलाई एक साथ अगाडि बढाउँदै आएका राज भन्छन्, ‘निर्देशन मेरो पेसा हो भने अभिनय र मोडलिङचाहिँ रुचिमात्र ।’ तर, रुचिमात्र भए पनि उनले निर्माण हुँदै आएका अधिकांश तामाङ भाषाका गीतको भिडियोमा उनै राज हुन्छन् । यस्तो किन त ? उनी भन्छन्, ‘खै, यो दर्शक तथा स्रोताको मायाले हुनुपर्छ ।’ हुन पनि एक समय तामाङ भाषाको म्युजिक भिडियो निर्देशन र अभिनयमा राजको विकल्प नै थिएन अर्थात् राजको एकछत्र राज थियो । त्यसैले त उनको नाम सयौं भिडियो दर्ज भए । तर, अहिलेको अवस्था त्यस्तो छैन किनकि हिजोआज तामाङ समुदायमा पनि थुपै्र मोडल, अभिनेता र निर्देशक जन्मिसकेका छन् । यो कुरा उनी पनि स्वीकार्छन् । राज भन्छन्, ‘पहिलेजस्तो त कहाँ हुनु र ? थुप्र्रै कलाकार तथा निर्देशक आएका छन् । यो खुसीको कुरा पनि हो ।
तर, जति नै नयाँ प्रतिभाहरु आगमन भए पनि आफूलाई कुनै असर नपर्ने राज बताउँछन् । ‘नयाँ प्रतिभा तथा कलाकार जन्मिनु भनेको खुसीको कुरा हो’, राज भन्छन्, ‘यसले स्थापित कलाकारलाई कुनै असर पर्दैन । म आफ्नो ठाउँमा छु । उहाँहरुले पनि आफ्नो ठाउँबाट रामै्र गरिरहेका छन् ।’ यसरी कलाकारितामार्फत् आफ्नो भाषा, संस्कृति र वेशभूषाको प्रवद्र्धन गर्दै आएका राजले पछिल्लो समय आफ्नो योगदानको समेत कदर हुन थालको अनुभूत गर्न थालेका छन् । सयौं गीतको भिडियोमा अभिनय गरिसकेका राजले हालै सम्पन्न ‘प्रथम म्हेन्दोमाया म्युजिक अवार्ड’ मा ‘तामाङ ठिटी’ गीतको भिडियोबाट अवार्ड पाए । जसलाई उनी आफ्नो कामको सम्मान भन्न रुचाउँछन् । ‘तामाङ ठिटी’ गायिका छिमी मम्बाको एल्बम हो । छिमीले पनि यसै एल्बमबाट अवार्ड पाएकी थिइन् । ‘म्हेन्दोमाया म्युजिक अवार्ड’मा ‘तामाङ ठिटी’ले ‘वर्षको उत्कृष्ट एल्बम’ को अवार्ड पाएको थियो । राज अभिनित तथा निर्देशित ‘चच्चा राङी’, ‘तामाङ ठिटी’, ‘साँचो बक्सरी’ जस्ता चर्चित तामाङ भाषाका गीतहरु रहेका छन् ।
यिनै गीतका भिडियोहरुले उनी तामाङ समुदायमा ‘हिरो’ कहिलिएका छन् । उक्त अवार्ड पाएपछि राजका लागि अरु पनि पुरस्कार र सम्मानका बाटो खुलेजस्तै भएको छ किनकि त्यसयता उनले थुप्रै सम्मान पाइसकेका छन् । हुन त राज सम्मान र पुरस्कारभन्दा पनि आफ्नो काममा बढी ध्यान दिन्छन् । उनी कमाउनतिर पनि लागेका छैनन् । अहिलेसम्म आफूले कमाएको दर्शक तथा स्रोताको मायालाई नै उनी आफ्नो सम्पत्ति मान्छन् । राज भन्छन्, ‘कमाइकै कुरा गर्ने हो भने म करोडपति हुँ तर म त्यतातिर लागिनँ ।’ दामले काम गर्न सहज बनाए पनि सबै कुरा दाममा नभएको उनी सुनाउँछन् । राजको सोच भने ‘पहिले नाम, त्यसपछि दाम कमाउनु’ रहेको छ ।
एक दिन अवश्य आफ्नो सोच पूरा हुने उनले दृढता व्यक्त गर्छन् । अझै आफ्नो क्षेत्र र समुदायका लागि समर्पित भएर काम गर्न चाहेको राजले बताए । मूलधार भनिएको नेपाली चलचित्र क्षेत्रमा समेत आउने सोच बनाइरहेका राजले भने, ‘नेपाली चलचित्र क्षेत्रमा पनि काम गर्ने योजना बनाएको छु ।’