भोजपुरमा कुन दल कहाँबाट विजयी ?

भोजपुर । ७ गाउँपालिका र २ नगरपालिका रहेको भोजपुरमा हालसम्म ७ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार एमाले ४, कांग्रेस २, माओवादी १ मा जितेको छ ।
मत परिणाम अनुसार भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसका कैलाश कुमार आले र एमालेका ममिता राई विजयी हुनुभएको छ । त्यस्तै कांग्रेस, माओवादीको तालमेल समेत रहेको हतुवागढी गाउँपालिकामा एमालेको जिल्ला कमिटी अध्यक्ष समेत रहेका प्रेमकुमार राई प्रमुख पदमा निर्वाचित हुनुभएको छ भने एमालेकै चन्द्रमा राई उपप्रमुखमा विजयी हुनुभएको छ ।
त्यसैगरी अरुण गाउँपालिकाको प्रमुखमा कांग्रेसका गजेन्द्रबहादुर कार्कीले जित हात पार्नुभएको छ भने उप प्रमुखमा पनि कांग्रेसकै विनिता ढकाल विजयी हुनुभएको छ । त्यस्तै पौवादुम्मा गाउँपालिकामा एमालेका किरण राई प्रमुख पदमा निर्वाचित हुनुभएको छ भने माओवादी केन्द्रकी सम्झना राई उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै रामप्रसाद राई गाउँपालिकामा एमालेका विजय राईले ८ मतले माओवादी केन्द्रका थामबाहदुर राईलाई पछि पार्दै प्रमुख पदमा विजयी हात हुनुभएको छ भने माओवादी केन्द्रकी सम्झना राईले उपप्रमुख पदमा जित हात पार्नुभएको छ । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईको क्षेत्र आमचोक गाउँपालिकामा समेत माओवादीले जितेको छ । माओवादी केन्द्रका अशोक राईले प्रमुखमा जित हात पारेको हो भने उपाध्यक्षमा माओवादी केन्द्रका सिता राईले जित हात पार्नुभएको छ ।
त्यस्तै सर्वाधिक चासोले हेरिएको ट्याम्के मैयुङ्ग गाउँपालिकामा एमालेका ध्रुवराज राईले जित्नुभएको छ । कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धन रहेका यस गाउँपालिकामा एमालेका ईन्द्रवती राईले उपप्रमुखमा विजयी हुनुभएको छ ।
त्यस्तै साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई ६३ मत बढि ल्याएर विजयी भएका छन् । उनले १६७४ मत मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका खगेन्द्र राईले १६११ मत ल्याए ।
त्यसैगरी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र षडानन्दा नगरपालिकाको मेयरमा कांग्रेसका बिरबल राईले २ हजार २ सय ४५ मतसहित अग्रता कायमै राख्नुभएको छ भने एमालेका सुरेन्द्र उदासले १ हजार १ सय ४२ मतले पछ्याइरहनुभएको छ ।