ओलीको पालामा भएको सम्झौताको कार्यान्वयन सुरु, ९० कन्टेनर बिशाखापटनम बन्दरगाहबाट नेपाल छुटे


काठमाण्डौ ।
नेपाल र भारतविच सहमति भएको करिव १७ महिनापछि भारतको बिशाखापटन्म बन्दरगाहबाट नेपालले पारवहन सुविधा उपयोग गरेको छ । यो संगै अव कोलकात्ता बन्दरगाहको एकाधिकार तोडिएको छ ।

साउन २० गते शुक्रबार पहिलो पटक ९० मालबाहक ट्यांकर सामानसहित नेपाल आएका छन् । बिशाखापट्नम बन्दरगाहका कोष (बिशाखा पोर्ट ट्रष्ट) का अध्यक्ष एम.टी. कृष्ण बाबुले हरियो झण्डा देखाएर मालबाहक कन्टेरनलाई नेपाल पठाउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७२ फागुन ७ देखि भएको भारतको राजकिय भ्रमणमा उहाँकै प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिशाखापटनम बन्दरगाह खोल्न सहमत हुनुभएको थियो । नेपालले हालसम्म कलकत्ता बन्दरगाहमात्रै प्रयोग गर्दै आएकोमा त्यहाँ ठूलो परिणाममा सामान ल्याउन नसक्ने, ट्राफिक पनि वाक्लो हुने भएकाले लामो समयसम्मका ‘क्यू’ मा बस्नुपर्ने र महँगो समेत पर्ने भएकाले बैकल्पिक पोर्टको रुपमा यो अघि बढाइएको हो । कोलकत्ताभन्दा लामो दुरी भएपनि सबै दृष्टिकोणले नेपालसम्म सामान ल्याइ पुर्याउँदा यो बन्दरगाह सस्तो र भरपर्दो रहेको बिज्ञहरुले बताएका छन् ।

नेपालले समुन्द्रसम्म सहजै पहुँच पाउनु उसको नैसर्गिक अधिकार भएको र त्यसमा पनि नेपालको आवश्यकता अनुसार सुविधायुक्त बन्दरगाह प्रयोग गर्नुपर्छ भन्नै ओली सरकारले द्धिपक्षीय वार्तामा यो प्रस्ताव सारेको थियो । प्रधानमन्त्री ओलीको प्रस्ताव भारतीय प्रधानमन्त्री मोदी सहमत भएपछि यो सम्झौता रुपान्तरण भएको थियो । बिशाखा पोर्ट ट्रष्टका अध्यक्ष एम.टी. कृष्ण बाबुले बिशाखा कन्टेनर टर्मिनल प्राइभेट लिमिटेड (भीसीटीपीएल) मा हरियो झण्डा देखाएर ती ९० कन्टेनरलाई नेपालतर्फ बिदाई गर्नुभएको थियो ।

‘यो पहिलो पटक हो, एउटा सामान भरिएको रेल यहाँबाट नेपाल जादैछ । हामी अपेक्षा राख्छौ की नेपालले यहाँबाट लैजाने समानहरुको अनुपात भविश्यमा अरु बढ्नेछ’ उहाँले भन्नुभयो । नेपाल सरकारले बिशाखापटनमलाई कोलकत्ता –हल्दिया पोर्टपछिको दोश्रो बन्दरगाहका रुपमा प्रयोगमा ल्याउने जानकारी आफूहरुलाई दिएको भन्दै अव व्यापारको मात्रा बढ्ने बताए । यो बन्दरगाह कोलकत्ताभन्दा बढी गहिरो र ठूलठूला जहाजहरुलाई समेत सहज संचालन गर्न सकिने खालको छ ।

बिशाखापटनममार्फत नेपाल र भारतको व्यापार सम्बन्ध बिस्तार हुने भारतीय अधिकारीले बताउनुभएको छ । ‘यहाँबाट हप्तामा एउटा रेल नेपाल पठाउनुपर्छ , यसलाई संभव तुल्याइनुपर्छ’ उहाँले भन्नुभयो । नेपाली आयातकर्ता र निर्यातकर्ताले बिशाखापटनममा बढी चासो दिएको र त्यसै अनुरुप कन्टेनर कार्गोलाई अनुमति भएको उल्लेख गर्दै छिटै वल्क कार्गोलाई संचालनमा ल्याइनेछ ।