भोजपुर । जिल्लाका सबै स्थानिय तहहरुमा पहिलो किस्ता बापतको रकम निकासा गरिएको छ । दुई नगरपालिका र सात गाउँपालिका गरि नौ वटै स्थानिय निकायहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालयले बजेट निकासा गरेको हो ।
साउनको सुरुमै रकम निकासा गर्नुपर्ने भएपनि नौ वटै स्थानिय तहहरुले खाता नम्बर पठाउन समय लगाएको कारण रकम निकासा गर्न केहि ढिलाई भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख ईश्वरी प्रसाद देवकोटा बताए ।
स्थानिय तहलाई केन्द्रबाट निकासा भएको कुल बजेटमध्ये पहिलो किस्ताको एक तिहाई रकम निकासा गर्नुपर्ने व्यवस्था छ । जसमध्ये भोजपुर नगरपालिकामा वित्तिय समानिकरण र ससर्त अनुदान गरि ११ करोड ५३ लाख ४८ हजार तीन सय ३२ रुपैँया, षडानन्द नगरपालिकामा १२ करोड ९८ लाख ९४ हजार तीन सय ३३ रुपैँया, अरुण गाउँपालिकामा १० करोड १३ लाख ४० हजार नौ सय ९९ रुपैँया, आमचोक गाउँपालिकामा आठ करोड ८७ लाख ६७ हजार छ सय ६६ र टेम्के मैयुम गाउँपालिकामा ९ करोड २१ लाख ५२ हजार तीन सय ३३ रुपैँया बराबरको पहिलो किस्ताबापतको रकम निकासा गरिएको छ ।
त्यस्तै पौवादु्मा गाउँपालिकामा सात करोड २२ लाख ११ हजार नौ सय ९९ रुपैँया, रामप्रसाद राई गाउँपालिकामा आठ करोड ७३ लाख १३ हजार तीन सय ३३ रुपैँया, साल्पासिलिछो गाउँपालिकामा सात करोड ४३ लाख छ हजार नौ सय ९९ रुपैया र दक्षिणी हतुवागढि गाउँपालिकामा आठ करोढ ८८ लाख ३३ हजार नौ सय ९९ सय रकम पहिलो किस्तामा निकासा भएको प्रमुख देवकोटाले जानकारी दिए । स्थानिय तहको लागि आएको रकम एकतिहाईको दरले साउन, मंसिर र चैत्र गरि तीन किस्तामा निकासा हुने कार्यालयले बताएको छ ।