सार्वजनिक विदाले बिक्रीको चाप बढ्दा सेयरबजारमा उच्च गिरावट
सोमबारको सेयर कारोबारमा सामान्य उतारचढाब आएपनि सेयरबजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ ।कारोबारमा आएका सबै समूह नकारात्मक रहेपछि बजार उच्च अंकले घटेको हो। तर घटेको बजारमा सस्तो मूल्यमा सेयर खरिद गर्नेक्रम बढ्दा कारोबारमा कमी आएन ।
यो साता जम्मा तीन दिन मात्र सेयर कारोबार हुने भएपछि सेयरबजारमा बिक्रीको चाप परेको देखिन्छ ।नजिकदै गरेको चाडपर्वको लागि पैसाको जोहो गर्नेहरुले सेयर बिक्रीको क्रम बढाएको देखिन्छ । बजार घटेको मौका छोपी सेयर उठाउनेहरु पनि उत्तिकै सक्रिय रहदा कारोबारमा उत्साह कायमै छ ।
सोमबार सेयर किन्ने र बिक्री गर्नेहरुबीच घम्साघम्सी हुँदा बजार खुलेको पहिलो एकघण्टामै नेप्से २५ अंकले झरेको थियो ।त्यसपछि विस्तारै सुध्रिएको बजारले २० अंक रिकभर गरेपनि बजार बन्द हुने समयसम्म आईपुग्दा पुन ओरालो लागेर २५.४७ अंकले घटेर बन्द भएको छ ।
यो साता सार्वजनिक विदाका कारण तीन दिन मात्र सेयरबजार खुल्छ । आइतबार बकर ईदको सार्वजनिक विदाले सेयर कारोबार भएन । मंगलबार इन्द्रजात्रा भएकाले उपत्यकामा विदा रहेको छ ।
बजारमा धेरै कारोबार हुने बाणिज्य बैंकहरुले कुन बैंकले कति बोनस दिन्छ र कुन बैंकको कति क्षमता छ भन्ने बिषयमा लगानीकर्ताहरुलाई पूर्व जानकारी भएकाले पनि बोनस घोषणा हुदा समेत बजार बढ्न नसकेको हो ।अधिकांस वाणिज्य बैंकहरुले आफ्नो पूँजी वृद्धि योजनामै सम्भावित लाभांश बारे उल्लेख गरेका थिए ।
अर्कातर्फ राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने क्रममा सूचिकृत कम्पनीहरुले विगतमा दिएका हकप्रद, बोनस, एफपीओ धमाधम सुचिकृत भएकाले सेयरको आपूर्ति बढ्न गएको छ भने आपूर्ति अनुसारको माग नहुँदा सेयरमूल्य घट्न पु्गेको हो । तर केही लगानीकर्ताहरुले बजार घटेको मौकालाई सेयर खरिदको अवसरको रुपमा उपयोग गरेको देखिन्छ । जसका कारण कारोबारमा बढोत्तरी देखिएको छ ।
सोमबार सेयरबजार परिसुचक नेप्से २५ दशमलब ४७ अंकले घटेर १५५४.५६ बिन्दुमा झरेको छ । यसदिन १५२ कम्पनीको ८४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । कारोबार रकम गत विहीबारको तु्लनामा ६२ लाख मात्रै कम हो ।