
काठमाडौ । गायिका कोमल ओलीले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् । बुधबार राजधानीमा आयोजित गायिका मञ्जु पौडेलको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कमल थापाको राप्रपा छाड्ने संकेत गरेकी हुन् । साथै, आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा गृहजिल्ला दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरिन् ।
स्रोतका अनुसार उनी राप्रपा परित्याग गरी एमालेमा प्रवेश गर्दैछिन् । यसका लागि उनले एमाले नेताहरु (विशेषगरी शंकर पोखरेल, केपी ओली)सँग छलफल चलाएकी छन् । र, एमालेबाटै प्रदेशसभा चुनाव लड्नेछिन् ।
कार्यक्रममा उनले भनिन्– ‘म आउने चुनावमा दाङबाट उठ्दैछु, सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहोला, म देशकै सेवा गर्छु गीत पनि गाउँछु ।’
यद्यपी प्रदेशको चुनावमा उठ्ने घोषणा गरेपछि उनले पार्टीको नाम उल्लेख गरिनन् । कुन दलबाट उठ्ने भन्ने कुराको छलफल चलिरहेको मात्र बताइन् । यसबाट के बुझ्न सकिन्छ भने उनी राप्रपा छाड्दैछिन् । र, स्रोतलाई मान्ने हो भने दशैंपछि उनी एमालेमा प्रवेश गर्दैछिन् ।
यसअघि माओवादी केन्द्रमा रहेकी नायिका रेखा थापालाई लिएर कोमल ओली गत वर्ष राप्रपामा प्रवेश गरेकी थिइन् । तर, केही महिना पार्टी फुटेर रेखा थापा पशुपति सम्शेर राणा समूहतिर लागेपछि एक्लिएकी कोमल अब एमालेबाट नयाँ राजनीतिक यात्रा प्रारम्भ गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाई छ ।