प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग

तेह्रथुमः तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु डेढ करोडभन्दा बढी खर्च गरेको छ ।

सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरेको छ ।

सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा रु डेढ करोडभन्दा बढी खर्च भइसकेको पोखरेलले बताउए । आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गरे ।

जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु पाँच हजार सहयोग गर्दै आएको छ

उहाँले गाउँबस्तीका गरिब दुःखीलाई मात्र सहयोग गर्नुभएको छैन, नेकपा (एमाले) का नेता स्व जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई छहारीसमेत लगाइदिए ।

आश्रितको मृत्युपछि एक्लिएकी मायालाई सुरक्षित बासका लागि घर निर्माण गर्न पोखरेलले व्यक्तिगतरुपमा रु २७ लाख सहयोग गरे । आफूले कमाएको सम्पत्तिको केही अंश समाजसेवामा खर्च गरे शान्तिको श्वास फेर्न सजिलो हुने पोखरेलको भनाइ छ ।

उहाँले रेडियो मेन्छ्यायेम भवन निर्माणका लागि रु दुई लाख, पतालेश्वर महादेव मन्दिर निर्माणका लागि रु १० लाख, पिंगुवा खोला नजिकै मलामी पाटी तथा खाजाघर निर्माणका लागि रु पाँच लाखभन्दा बढी सहयोग गरे ।

पोखरेलले जिल्लाको पत्रकारिताको विकासदेखि नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखामा रु एकलाख एकहजार १११ को अक्षयकोष स्थापना गरे ।

उहाँले आफूले पढेको रत्न मावि, सोल्मामा रु दुई लाख एकहजार १११ र कालिका मावि जिरीखिम्तीमा रु दुईलाख एक हजार १११ को छात्रवृत्ति अक्षयकोष पनि खडा गरे ।

यस्तै, झापा माईधारको वृद्धाश्रमलाई रु एक लाख ५० हजार, म्याङ्लुङका अग्निपीडितलाई रु एकलाख र रेडक्रस जिरीखिम्तीको भवन निर्माणका लागि रु एक लाख नगदै सहयोग गरेको छ ।

पोखरेलले जिल्लामा हुने करिब एक दर्जन खेलकुद कार्यक्रममा वर्षेनी पुरस्कार प्रायोजन गरेर सहयोग गरेका छ । सोल्माकी पदमकुमारी गुरुङलाई आँखा उपचारका लागि पोखरेलले रु ७५ हजार सहयोग गरे । अहिले गुरुङ आँखा देख्नसक्ने भएको छ ।

मोराहाङको सिद्धेश्वर माविमा पढ्ने विद्यार्थी सुरेश खत्रीको ढाडमा पलाएको मासुको पोकोको शल्यक्रियाका लागि पोखरेलले रु ५० हजार सहयोग गरे । करेन्ट लागेर घाइते सोल्माका नरसिंह लिम्बूलाई उपचारका लागि रु २० हजार, सुदापका मिर्गौला पीडित नगेन्द्र घोर्सानेलाई रु २० हजार, सुङ्नामकी सावित्रा संग्रौलालाई रु २० हजार, हमरजुङका पेटका रोगी धनबहादुर बुढाथोकीलाई रु २० हजार सहयोग गरेको पोखरेलले बताए ।

पोखरेलले हमरजुङका झुप्पबहादुर रोकाको साहुकहाँ बन्धक रहेको खेत उकास्न रु २१ हजार सहयोग गर्नुभएको छ । यस्तै, म्याङ्लुङ र जिरीखिम्ती क्याम्पसलाई रु एक–एक लाख, सिन्धुपाल्चोकमा मन्दिर निर्माणका लागि रु तीन लाख, पेण्टागन कलेज, काठमाडौँलाई रु ५० हजार सहयोग गरे ।

अब छिट्टै सदरमुकाम म्याङ्लुङमा एउटा बाल तथा वृद्ध आश्रम खोल्ने आफ्नो लक्ष्य रहेको पोखरेलले बताएयो । आश्रमका लागि रु ६५ लाखमा पाँच रोपनी जमिनसमेत खरिद गरिएको छ ।

“समाजसेवा मेरो रुचि हो, म रहुन्जेल गरिरहन्छु”, उहाँ भन्नुहुन्छ, “सबैले आफूले कमाएको केही प्रतिशतमात्रै समाजसेवामा खर्च गर्ने हो भने धेरैको उद्धार गर्न सकिन्छ ।” अष्ट्रेलियामा कार्यरत पोखरेलले सञ्चार माध्यमबाट आउने विभिन्न समाचारका आधारमा पीडितलाई सहयोग गर्ने गरेको बताए ।

जिल्लामा सम्पर्क व्यक्तिका रुपमा पत्रकार भगिश्वर लिम्बू क्रियाशील छ । पोखरेलले सामाजिक क्षेत्रको सेवाकै लागि करोडौ रुपैयाँ खर्च गरेर धन हुने अरुहरुलाई पनि प्रेरित भएको पत्रकार लिम्बूले बताए ।