काठमाडौ । नेपाली साङ्गितिक क्षेत्रमा अब्बल अभिनयकारका रूपमा अब्बल ठहरिएकी बाल कलाकार काजल नेपालीको देहावसान भएको छ ।
आधा दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी काजलले बिहिबार राती महाराजगञ्ज स्थित अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा अन्तिम पटक सास लिदै, यो संसारबाट बिदा भएकी हुन ।
बाल कलाकारका रुपमा नेपाली गीत सङ्गीत क्षेत्रमा अभिनय गर्दै आएकी काजल बिहिवार नै बिरामी भई अस्पताल भर्ना भएकी थिइन । काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको चर्चित गीत ‘सपना मिठो’ मा अभिनय गरेकी थिइन् ।
साथै उनले अभिनय गरेका चर्चित गितहरु ‘आउन पाइन घर यो दशैमा’, खोला जस्तै हो रे चोला, धिङ्का ताका धिन, बैश गयो हासेर लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजलले २०६८ सालबाट म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी थिईन । लामो समयदेखि बालकलाकार काजल फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।
बाल कलाकार काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली र लोकप्रिय लोक गायिका कृष्णा परियारकी जेठी छोरी हुन । बिजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछि त्यहाँ आईसियु बेड खाली नभएपछि अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा काजलको बिहिबार राती मृत्यु भएको थियोे ।