
भोजपुर । भोजपुर कारागारमा क्षमता भन्दाबढि कैदि भएपछि कैदीबन्दीहरुको दिन कष्टकार बनेका छन् । कारगारमा ३० जना क्षमता पनि पुरुष कक्षमा ७१ जना अटाएका छन् । त्यस्तै महिला कक्षमा ८ जना महिलासहित एक नाबालक कष्टपूर्ण रुपमा बसीरहेका छन् । पटक–पटकको भूकम्पले गर्दा दुईवटा भवनका १८ वटै कोठामा क्षति पुगेको छ । हाल १० कोठा मात्र प्रयोगमा छन् । प्रयोगमा रहेका कोठाका चौकोश र चिसो भुइँ भएका साँघुरा कोठामा उनीहरू बस्न बाध्य छन् ।
राज्यले ध्यान नदिएकै कारण कारागारमा हुनुपर्ने न्यूनतम सुविधासमेत पाउन नसकिरहेको चौकीदार नवीनकुमार राईले बताए । ‘भूकम्प गएदेखि स्थिति झन् गाह्रो भएको हो, सुरक्षित र सुविधायुक्त बसाइँ व्यवस्थापनका लागि पटक–पटक माग गरे पनि हाम्रो कुरा सुन्ने कोही भएन,’ उनले भने ।भवन मर्मतसम्भार तथा पुनर्निर्माणमा सरकारको चासो नपुग्दा ज्यानलाई जोखिममा पारेर बस्नुपरेको कैदीबन्दी गुनासो गर्छन् । दुस्खदायी र कष्टकर बसाइँ बस्नुपरेको इटहरी घर भई जबरजस्ती करणीअन्तर्गत ३ वर्षयता जेलजीवन भोग्दै आएका देवेन्द्र पराजुलीले बताए । ‘ठाउँ साँघुरो छ, जताततै चर्केको छ, जसोतसो मिलेर अट्नुपरेको छ,’ उनले भने । सुरक्षाका हिसाबले बस्नै नमिल्ने तथा सुविधा पर्याप्त नभए पनि कैदीबन्दीलाई अटाएरै राख्नुपरेको जेलर खगेन्द्र अधिकारीले बताए । ‘बस्नै नमिल्ने भएको छ भनेर नहुने, अदालतले पठाएपछि राख्नैपर्यो,’ उनले भने ।
लागत र संरचना स्टिमेटसहित सुरक्षा समितिको बैठकले पारित गरेको कैदीबन्दीको माग कारागार केन्द्रीय विभाग र गृहमन्त्रालयमा पठाएको उनले बताए । ‘कहिले बनाइदिने हुन् पत्तो छैन, प्रक्रिया चल्दैछ भन्छन्, यता ‘कामचलाउ’ भवनमै धान्नुपरेको छ,’ उनले भने ।