काठमाडौ । २ सय ८ फिट लम्बाई, १ सय ९७ फिट चौडाई र ५६ फिट उचाई रहेको ४ सय ४० यात्रु अटाउन सक्ने एयरबस लमतन्न परेर बसेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा वाहिर त्यो एयरबस नजिक पुग्ने सर्वसाधारण गेटका पालेसँग सोध्छन्, ‘हेर्न जान पाईन्छ !’
पाले उत्तर दिन्छन्, ‘अहिले जान पाईँदैन, आज ९१८ कार्तिक० पत्रकारहरुलाई मात्र प्रवेश दिइएको छ।’वास्तवमा त्यो एयरबसभित्र म्युजियम स्थापना गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वाहिर तर नजिकै सिनामंगलमा रहेको ‘एभिएसन म्युजियम’ लेखिएको एयरबस जसले देखेको छ, उसको मनमा प्रश्न उब्जन्छ, ‘एयरबसभित्र म्युजियम स्थापना कसरी सम्भव भयोश ?’
आइतबारबाट खुल्ने एभिएसन म्यूजियमभित्र विभिन्न देशलाई प्रतिनिधित्व गर्ने ८६ भन्दा बढी मनोरम तस्विरहरु सजाईएका छन्। म्युजियममा ३ सय ५० भन्दा बढि मिनिएटस जहाजहरु छन्। साथै राईट्स दाजुभाईले बनाएको पहिलो जहाजको मोडल पनि त्यहाँ छ।एभिएसनभित्रका पाँच हल जहाजको इतिहास झल्काउने सामाग्रीले सजाइएका छन्। सात वटा हल रहेको सो म्युजियममा नेपालको हवाइ सेवा र नेपाली आकाशमा उडेका जहाजका मोडेलहरु रहेको म्युजियमका प्रारम्भकर्ता क्याप्टेन बेद उप्रेतीले जानकारी दिए।
उप्रेती आफ्नै नाममा स्थापना गरिएको बेद उप्रेती ट्रष्टका प्रमुख कार्यकारी अधिकृत पनि हुन्।सबैको चासोको विषय बनेको एभिएसन म्युजियमको अवधारणा त्यो बेला बन्यो, जतिबेला टर्किस एअर ३३० काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटनामा पर्यो , २९ फागुन ०७१ मा। दुर्घटनामा परेको त्यही जहाजलाई लिएर क्याप्टेन बेद उप्रेती ट्रस्टले म्युजियम स्थापना गरेको हो। म्युजियम नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा स्थापना भएको हो। आठ हजार वर्गमिटरमा फैलिएको यो म्युजियम वर्ष दिन लगाएर तयार गरिएको उप्रेतीले बताए।
दुर्घटनामा परेको टर्किस एअरका सबै सामग्री सिनामंगलसम्म ल्याउन त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द गर्नुपरेको थियो। ती सामाग्री विहान १–३ बजेसम्म ल्याउन मिल्ने व्यवस्था गरिएको थियो।‘यो म्युजियम तयार गर्न धेरै कष्ट बेहोर्नु पर्यो’ उप्रेतीले नेपालखबरसँग भने ‘यति धेरै दुःख हुन्छ भन्ने थाहा भएको भए म्युजियम बनाउने योजना नै बनाउँदैनथेँ होला।’तर, जति धेरै दुख खेप्न परेपनि युवा पुस्तालाई नागरिक उड्डयनतर्फ आकर्षित गराउन, नयाँ पर्यटकीय केन्द्र स्थापना गराउन उनले यो म्युजियम स्थापना गरिछाडे।
एभरेष्ट बैंकबाट दुई करोड ९० लाख रुपियाँ लिएर उप्रेतीले सात करोडको लगानीमा एयरबस ३३० भित्र पहिलो एभिएसन म्युजियम स्थापना गरेका हुन्। म्युजियम बनाइएको जग्गा ट्रस्टले प्रधिकरणसँग १० वर्षको लागि सम्झौता गरेर लिएको नागरिक उड्डयन प्राधिकारणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए।
आठ हजार स्क्वायर मिटरमा फैलिएको जमिनका लागि म्युजियमले प्राधिकरणलाई मासिक प्रतिवर्गमिटर ६ सय रुपैयाँ तिर्नेछ।उप्रेतीको भनाईमा, एभिएसन विषयमा विद्यार्थीहरुको रुची जगाउने उद्देश्य रहेकाले संग्रहालय अवलोकन गर्न आउनेमध्ये कक्षा ९–१२ का विद्यार्थीलाई निःशुल्क प्रवेश दिइएको छ भने अन्य विद्यार्थीहरुलाई टिकटमा ५० प्रतिशत छुटको प्रवन्ध छ।
अन्यका हकमा नेपालीलाई ३ सय र विदेशीका लागि ६ सय रुपैयाँ शुल्क तोकिएको छ। यो एक महिनाको अवधिमा भने नेपालीलाई २ सय ५० र विदेशीलाई ५ सय रुपैयाँ शुल्क लिइने उनले बताए। म्युजियम प्रत्येक विहान १० देखि साँझ ५ बजेसम्म खुल्ने छ।
विमानभित्र बनेको यो म्युजियम अवलोकन गर्नेहरुबाट संकलन भएको रकम समाज सेवाका लागि प्रयोग गर्ने उप्रेतीले जानकारी दिए। क्यान्सर पीडितका लागि ट्रष्टले सहयोग गर्दै आइरहेको जानकारी पनि उप्रेतीले दिए।जन्मघर डडेल्धुरा भएका ५३ वर्षीय पाइलट उप्रेती यो म्युजियमका सञ्चालक एवं परिकल्पनाकार हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो जहाज दुर्घटनामा परेपछि त्यसको वडी टर्किस एयरले उप्रेतीलाई विक्री गरेको थियो, गत कार्तिकमा। विक्री गर्नुको कारण थियो, त्यसको मर्मत हुने सम्भावना नहुनु।२५ अर्ब २४ करोड रुपियाँ मूल्य पर्ने विमान दुर्घटना हुनु पहिले करिब आठ महिना मात्रै उडेको थियो।