उम्मेदवार नै नचिनी भोट हाल्न बाध्य छन् संखुवासभाका दुर्गम क्षेत्रका मतदाता

बाबुराम बास्तोला
संखुवासभा । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ । उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन्, तर संखुवासभाका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता रहेको छ ।

भौगोलिक विकटता र यातायात असुविधाका कारण मतदाताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता संखुवासभाका अधिकांश ठाउँहरुमा रहेको छ । चुनावको मिति नजिकिँदै गर्दा दलहरूले केही ठाउँमा चुनावीसभा र घरदैलो कार्यक्रम गरे पनि दुर्गम गाउँमा भने चुनावको चहलपहल नै भएको छैन ।

‘गाउँमा कतै कतै राजनीनितक दलका कार्यक्रम हुन्छन रे तर हाम्रो ठाउँमा त नेताका अनुहार कसैले देख्न पाएका छैनौं भोटखोला गाउँपालिका २ का छिरिङ भोटेले भने, ‘हामीले नै भोट हाल्नुपर्ने, नेताका कुरा सुन्न र अनुहार देख्न नपाउँदा दुःख लाग्छ’ उनले गुनासो गर्दै भने । दुर्गममा मतदातासँग गाउँस्तरका कार्यकर्ताले नै नेताको प्रशंसा गरेर मत माग्ने गरेको स्थानीयहरुको भनाइ छ ।

‘अरू वेला नेता देख्ने र भेट्ने कुरै भएन, चुनावमा भेटेर गाउँका समस्या राख्ने हो, त्यो पनि अवसर पाएनौँ,’ भोटखोला गाउँपालिका ५ की सुनावुटी शेर्पाले भनिन् । हाम्रो बस्तीका मतदाताले चुनावमा नेता चिनेर अंकमाल गर्दै भोट हाल्ने दिन कहिले आउला ? भोटखोला गाउँपालिका का छिन्डुम भोटेले गुनासो गरे । ‘पार्टी र उम्मेदवारको नाम सुनिन्छ तर भेट हुने छाँट छैन,’ भोटखोला गाउँपालिका १ किमाथाङकाका वाङदावि भोटेले गुनासो गरे । भोटे यसपटक उम्मेदवार गाउँ आए भने गाउँको विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नुपर्ने बाध्यता हटाउने योजनाबारे सोध्ने योजनामा सुरसारमा छन् ।

अप्ठ्यारो भूगोल र यातायात नहुँदा समस्या

संखुवासभाका अधिकांश ठाउँमा चुनावी प्रचारप्रसारमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार पुग्ने अवस्था छैन । अप्ठ्यारो भूगोल र यातायात असुविधाका कारण सबै मतदातासँग भेट्ने चाहना पूरा नहुने वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा का साझा उम्मेदवार एमालेका राजेन्द्र गौतमले बताए । उनले भने, ‘सबै मतदाताको भावना बुझ्न सकियोस् भन्ने हो तर बाध्यता छ, त्यो सम्भव छैन तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो ।’
‘चाहेर पनि सबै ठाउँमा पुग्न सम्भव नभएको, सकेसम्म हरेक मतदाताको घरदैलोमा पुगेर मत माग्ने मन हुँदाहुँदै पनि सबै ठाउँमा पुग्न नसकेपछि कार्यकर्ता परिचालन गरेको नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक खड्काले बताए । यहि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा संखुवासभा जिल्लामा प्रतिनिधिसभाको लागि १० दल र प्रदेश सभाको लागि ८ दलका २६ उम्मेद्वार चुनावि मैदानमा छन् । प्रतिनिधिसभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको संखुवासभाका १ लाख ५ हजार ८५ मतदाताले मतदानमा भाग लिदैछन् ।