भोजपुर । उत्तरी साल्पासिलिछो गाउँपालिकामा बुधबार एक नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साल्पासिलिछो गाउँपालिका वडा नं २, कुलुङको ठोटनेरीका महेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रण लिईएका तामाङ नेकपा माओवादीका जिल्ला कमिटी सदस्य हुन् । तामाङ पक्राउ परेसंगै भोजपुरमा विप्लवका कार्यकर्ताको संख्या ८ पुगेको छ । पछिल्लो समय उम्मेदवारहरुमाथि भएको श्रृङ्खलाबद्ध बम आक्रमण भईरहेका बेला प्रहरीले विप्लवका कार्यकर्ताहरुलाई धमाधम नियन्त्रणमा लिँदै आएको छ ।
चुनाव विथोल्ने किसीमका सांघातिक हमलापछि जिल्ला प्रहरी कार्यालय भोजपुरले सुरक्षामा कडाई गरेसंगै आफ्नो प्रहरी गस्ती पनि बढाएको छ । उम्मेदवार र मतदाताको सरक्षालाई विशेष ध्यान दिँदै गस्ती बढाएको प्रहरी नायब उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए । गस्ती बढाउनुको साथै प्रहरीले शंकास्पद क्षेत्रलाई विशेष ध्यान दिएको उनको भनाई छ । त्यस्तै प्रहरीले ठाउँठाउँमा संयुक्त कारबाही जारी राख्नुको साथै उम्मेदवारको सुरक्षामा निरन्तरता दिने पनि डिएसपी थारुले जानकारी दिए ।
पछिल्ला समयमा उम्मेदवारलक्षित हमला र विभिन्न स्थानहरुमा भएको चुनाव विथोल्ने गतिविधीलाई विशेष ध्यानमा राख्दै सुरक्षा समितीले भोजपुरको १७ वटा अति संवेदनशिल, २४ वटा संवेदनशिल र ४६ वटा सामान्य मतदान स्थलहरुमा वर्गीकरण गरिएको छ । उक्त सुरक्षालाई तीन तहमा घेरा बनाईएको छ ।
जिल्ला प्रहरीले जिल्लाभरका सबै मतदान केन्द्रहरुमा ६ सय ९० म्यादीप्रहरी खटाईसकेको छ । अति संवेदनशिलमा ९, संवेदनशिल मतदान ७ र सामान्य मतदानस्थलमा ५ जना म्यादी प्रहरी रहने व्यवस्था गरिएको छ । थप नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना रहने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गीतनारायण चौधरीले बताए । भोजपुरमा ८७ मतदानस्थल र १ सय ४८ वटा मतदान केन्द्र छन् ।