भोजपुर । ब्लड क्यान्सरपिडित भोजपुर नगरपालिका वडा नं १०, टक्सार कोटडाँडा निबासी ३६ बर्षिय गोपाल आचार्य यतिखेर १० बर्षिय जेठो छोरा विवेक आचार्यको उपचार खर्च जुटाउन यताउता भौतारिरहेका छन् । ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसंग जिवनमृत्यूको संघारमा संघर्ष गरिरहेका छोरा विवेकको उपचार खर्च जुटाउन उनलाई न दिनमा भोक छ न रातमा निद्रा । छोराको औषधोपचार कसरी धान्ने भन्नेमा उनलाई चिन्ताले पोलेको छ, यतिबेला ।
गरिबीले गाँजेको गोपाललाई यतिबेला छोरा बचाउन सहयोगको हातहरु सबैमा फैलाईरहेका छन् । देशविदेशमा रहने सम्पूर्ण ईष्टमित्र, आफन्त, चिनेजानेका मानिसहरुसंग सहयोगको लागि ढोका ढकढकाईरहेका छन् । मायाले संसार थाम्दैन भने जस्तै उपचार खर्च पर्याप्त नहुँदा छोराको उपचारमा समस्या भएको छ ।
भएको जायजेथा बेचेर छोराको स्वास्थ्योपचारका लागि अब केहि बाँकी छैन । दिनभरी अर्काको ज्यालामजदुरी गरेर दुई छोरा, अढाई बर्षे छोरी र श्रीमतीको सानो परिवार धान्दै आएका गोपाललाई यतिबेला छोराको उपचार खर्च जुटाउन सास न बास भएको छ । आर्थिक अवस्थाले अति कमजोर उनी उपचार खर्च जुटाउनलाई सबैका सामु हात फैलाउन बाध्य भएका छन् ।
विदेशमा रहने उनका साथिभाईहरु, छरछिमेक, ईष्टमित्रले सहयोग गरेपनि छोराको उपचारका लागि सहयोगले धान्न गाह्रो भएको उनी सुनाउँछन् ।
ब्लड क्यान्सर पिडित बिबेकलाई अहिले विपी मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर चितवनमा उपचारत छन् । कुनै पनि ईन्फेक्सनबाट बचाईराख्नुपर्ने समयावधिभर नियमित औषधि र चेकजाँच गर्नुपर्ने सल्लाह दिएका छन् ।
डाक्टरका अनुसार क्यान्सपिडित छोरा विवेकको कुल ३६ महिने क्यान्सर थेरापी ट्रिटमेन्ट गराउनुपर्ने र अहिले ११ महिनाको ट्रिटमेन्ट चलिरहँदा उनको उपचारको लागि समस्या खड्केको उनले बताए । बिबेकको पछिल्लो स्वास्थ्य अवस्था सुरुको भन्दा सुधारात्मक भएतापनि गोपाललाई खर्च जुटाउन मुस्किल परेको छ । समयावधि हेलचेक्राई गर्न नहुने र यदि गरे उनको ट्रिटमेन्ट नाजुक हुन सक्ने डाक्टरले सुझाएका छन् ।
गोपालले सहयोगका लागि विभिन्न सामाजिक सञ्जालतिर पनि सहयोर्थ साईट खोलेका छन् । फेसबुकमा उनले ‘बिबेक बचाउ अभियान’ नामक फेसबुक खोलेका छन् । उनले यसमार्फत देशविदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हारगुहार गरेका छन् । गोपालले एउटा मानवताको हिसाबले उदार दिल भएकाहरुका लागि उपचार सहयोगार्थ भनेर बिबेकको नाममा भरतपुरस्थित ग्लोबल आईएमईका खाता नम्बर (१८०७०१०००८६४९) पनि सार्बजनिक गरेका छन् । कहिकसै उनलाई सहयोगी हात बढाउन चाहनेहरुलाई आफ्नो व्यक्तिगत सम्पर्क नम्बर (९८१०१९००५५) पनि दिएका छन् ।