भोजपुर । मंसिर १० गते भएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनको भोली बेलुकी ५ बजेबाट मतगणना शुरु हुने भएपछि भोजपुरमा मतगणना क्षेत्र वरपर तारको घेराबारा गरिएको छ । भोली हुने ४५ जिल्लाको मतदान सकिएलगत्तै भोजपुरमा पनि मतगणना शुरु हुने भएपछि बाहिर अवरोध–सुरक्षालाई ध्यानमा राख्दै घेराबारा गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्गनामले बताए ।
बिहीबार हुने मतगणनाको लागि उम्मेदवारसहित बसेको सर्वदलीय बैठकले मतगणना प्रक्रिया बिषयमा छलफल गरेको थियो । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा हुने भएको छ । जिल्लाको सम्पूर्ण मतपेटिका उक्त कार्यालयमा ३ कोठामा सिलबन्दी गरी सुरक्षित भण्डारण गरेर राखिएको र मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको अधिकृत इङ्गनामले जानकारी दिए ।
सुरक्षित मतगणनाको क्रममा उच्च सुरक्षालाई ध्यानमा राख्दै कार्यालय परिसरभित्र सिसी क्यामेरा जडान गरिएको छ भने मतगणनास्थलमा रहने दलका प्रतिनिधिहरुका लागि तारको घेराबारा लगाइएको छ । मतगणना तीन ठाउँबाट हुने, प्रतिनिधि सभाका लागि एउटा कोठामा दुई ठाउँ र प्रदेश सभाका लागि एक÷एक ठाउँबाट गणना हुनेछ । मतगणनाको अन्तिम नतिजा आउन एक हप्ता लाग्ने अधिकृत इङ्गनामले जानकारी दिए ।
प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना हुनेछ । यो निर्वाचनमा भोजपुरबाट ५८.०८ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचनका लागि भोजपुरमा कुल मतदाता १ लाख १३ हजार आठ सय ४५ जना थिए ।