काठमाडौं । मत गणनाको सकेपछि कुन प्रदेशमा कुन पार्टीको सरकार बन्दैछ भन्ने आंकलन पनि सुरु भएको छ । त्यसमा पनि कुन पार्टीका कुन नेताले मुख्य मन्त्री पदको बागडोर सम्हाल्छन भन्ने चासो उत्कर्षमा पुगिसकेको छ । प्रदेश नम्बर २ बाहेक अन्य ६ वटै प्रदेशमा बामपन्थीहरुको सरकार बन्ने पनि निर्वाचन परिणामले देखाईसकेको छ ।
यस अघि पाँच प्रदेशमा एमाले र २ वटा प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने चर्चा चलेको थियो । यस्तो अवस्थमा प्रदेश नम्बर १, ३, ४ र पाँचमा एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना रहन्छ भने प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रले नेतृत्व गर्ने सम्भावना रहेको छ । तर माओवादीलाई प्रदेश नम्बर ६ मात्रै दिने सम्भावना पनि रहेको छ ।
प्रदेश नम्बर १
यो प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्ने पक्का जस्तै छ । त्यहाँ एमाले केन्द्रिय सचिव भिम प्रसाद आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले मुख्य मन्त्रीका लागि दावी गरिरहेका छन् । आचार्य माधव नेपाल पक्षधर हुन भने राई एमाले अध्यक्ष केपी ओली निकट हुन् । राईलाई राष्ट्रपति विद्या भण्डारीको आशिर्वाद रहेको एमाले नेताहरु बताउँछन् । यो प्रदेशमा यीनै दुई नेतामध्ये एकजनाले मुख्य मन्त्रीको जिम्मेवारी पाउनेछन् । उता, एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले पनि आफुलाई मुख्य मन्त्रीको दावेदारका रुपमा अघि सारेका छन् । आचार्य र राईले एक अर्कालाई अस्विकार गरेको अवस्थामा राजेन्द्र राई मुख्य मन्त्री बन्न सक्नेछन् ।
प्रदेश नम्बर २
यो प्रदेशमा बामपन्थीहरुले सरकार बनाउने सम्भावना देखिन्न । यहाँ संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले सरकार बनाउने देखिन्छ ।
यो प्रदेशमा संघिय समाजवादी फोरमका लालबाबु राउत र राजपाका जितेन्द्र रोनल मुख्य मन्त्रीका दावेदार छन् । यीनै २ जनामध्ये एक जनाले मुख्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।
प्रदेश ३
प्रदेश नम्बर ३ मा एमालेले सरकार बनाउने देखिन्छ । यहाँ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, पशुपति चौँलागाईँ र अरुण नेपालले मुख्य मन्त्रीको दावी गरिरहेका छन् । बरिष्ठताका आधारमा अष्टलक्ष्मी शाक्य नै मुख्य मन्त्री बन्ने सम्भावना रहेको छ ।
प्रदेश नम्बर ४
यो प्रदेशको सरकार पनि एमालेले नै बनाउने छ । यहाँ एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य किरण गुरुङले मुख्य मन्त्रीको दावी गरिरहेका छन् ।
सुब्बा एमाले अध्यक्ष ओली निकट हुन भने गुरुङ एमाले उपाध्यक्ष बामदेव गौतम निकट हुन् । बामदेव गौतम बर्दियाबाट पराजित भएसँगै उनले किरणलाई मुख्य मन्त्री बनाउन दबाव दिने अवस्था छ ।
प्रदेश ५
प्रदेश नम्बर पाँचमा मुख्य मन्त्रीका लागि एक मात्र उम्मेदवार हुन एमाले नेता शंकर पोखरेल । उनलाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मुख्य मन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभामा निर्वाचन लडाएका हुन् ।
प्रदेश ६
यो प्रदेशको मुख्य मन्त्री भने माओवादीले पाउने सम्भावना छ । यहाँ माओवादीका पोलिटब्युरो सदस्य महेन्द्र बहादुर शाही प्रदेश सभामा निर्वाचन जितेर बसेका छन् । माओवादी केन्द्रले नै उनलाई मुख्य मन्त्री बनाउने आश्वासन सहित प्रदेशमा पठाएको बताइँदै आएको छ । यहि प्रदेशबाट मुख्य मन्त्रीको आसमा एमाले नेता प्रकाश ज्वाला पनि प्रदेश संसदमा बसेका छन् ।
प्रदेश ७
यो प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य कर्ण बहादुर थापा मुख्य मन्त्रीको लाइनमा बसेका छन् । उनी मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभाको समानुपातिक सूचिमा बसेर चुनावी अभियानमा सामेल भएका थिए । यहाँ माओवादीको उपल्लो स्तरका नेता मुख्य मन्त्रीका लागि लाइनमा बसेका छैनन् । यद्यपी यो प्रदेशको मुख्य मन्त्री पद माओवादीको भागमा परेमा महिला नेतृ देवकी मल्ललाई सम्भावित पात्रका रुपमा हेरिएको छ ।