भोजपुर । सामाजिक घटनाक्रमलाई कलाकारितामा उतारेर दर्शकमाझ उर्जा थप्ने काममा लुप्त छन् यतिखेर भोजपुरे युवा चलचित्रकर्मीहरु । आफ्नो ठाउँबाट ठुलो पर्दाको सपना बोकेका यी युवाहरु भोलीको राजेश हमाल, दयाहाङ, विल्सन विक्रम, माग्नेबुढाको रुपमा आफुलाई उभ्याउन र चिनाउन कम्मर कसेर आफ्नो कलाकारितालाई निखारिरहेका छन् । त्यसो त समाजमा हुने गरेका अन्धविश्वास, रुढीवादी परम्परालाई सभ्य समाजको सामुन्ने पर्दाफास गर्ने कोसिस, प्रयास र मेहनतले सानो पर्दाबाट ठुलो पर्दाको पहिलो खुड्किलो बनाईरहेका भोजपुरे युवाहरु कलाकारितामा दिनरात नभनी आफ्नो नङ्रा खियाईरहका छन् ।
एकपछि अर्को गर्दै आफ्नै गाउँठाउँमा गएर सानो लगानीमा चलचित्रको छायाङ्कन गरी सानो पर्दामै आफ्नो कलाकारितामा आएका यी युवाहरु त्यही कलाकारितामा अहिले दौडधुप गरिरहेका छन् । हाँस्य–व्यङ्ग, एक्सन, भावुकता, सुखदुःखका सबैखाले अभिनयमा आ–आफ्नो कला प्रस्तुती क्षमतामा भविष्य देखेका भोजपुरे युवाहरुलाई यतिबेला एकछिन पनि फुर्सद देखिन्न । यस्तैयस्तै क्रममा सामाजिक घटना विशेषलाई समेटेर पटकथामा निर्माण गरिएको ‘विदेशीकी स्वास्नी’ चलचित्र प्रदर्शनीमा यतिबेला भोजपुरे युवाहरु जिल्लाको विभिन्न स्थानहरुमा हातसाथमा प्रोजेक्टर, जेनेरेटर लगायतका सामाग्री लिएर प्रदर्शनी गर्दै हिँडेका छन् ।
त्यही मेहनत र पसिनाले निमार्ण गरेको ‘विदेशीकी स्वास्नी’ नामक सन्देशमुलक चलचित्र जिल्लाका विभिन्न स्थान, गाउँघरको हरेक चोक र गल्लीमा प्रदर्शनी भईरहेको छ । एसएनयू प्रोडक्सन हाउसको व्यानरमा भोजपुर चलचित्रकर्मी संघ खोलेका तीनै युवाको पहिलो समसमायिक घटनाक्रमलाई समेटेर बनाईएको पहिलो ‘कन्डिसन’ पछिको यो दोस्रो स्थानिय चलचित्र विदेशीको स्वास्नी प्रदशनी गरिरहेका छन् । गाउँबेसी, बजारगल्ली जस्तो मानिसको भिड लाग्ने ठाउँहरुमा उनीहरुको चलचित्र हेर्न केटाकेटीदेखि बुढाबुढीसम्मको हुल नै देखापर्छ ।
विदेशीकी स्वास्नीहरुलाई समाजमा हेर्ने दुष्टिकोण, सोचाई र त्यसको बास्तविकतालाई उतार्न खोजिएको कलाकार तथा लेखक विरोध बस्नेतले बताए । ‘मूलतः यो चलचित्रले रुढीवादी परम्पराले जगडेको हाम्रो नेपाली समाजको वास्तविकता ओकल्ने कोसिस गरेको छ । जहाँ विदेशीकी स्वास्नी भन्ने वित्तिक्कै नराम्रो, अरु नै नाठो लिएर हिँड्ने भन्ने बुझ्ने गर्छन् । तर यथार्थमा यो त्यस्तो नभएको अन्धविश्वासले आफैलाई भंगालोमा लडाउने काम मात्र भएको दर्शाउँछ र चलचित्रको सार पनि यहि हो ।’ उनले चलचित्रको विषयलाई यसरी अथ्र्याए ।
भोजपुरे युवा कलाकारमध्ये एक शसक्त कलाकार विनोद प्रधानद्धारा निर्देिर्शत चलचित्रमा दुखले सुख निम्त्याउछ, सुखले काल निम्त्याउँछ भन्ने सन्देश दिन खोजिएको छ । सामाजिक घटनामा आधारित चलचित्र निमार्णबाट स्थानीय कलाकारहरुको उत्पादन तथा प्रवद्र्धन मुख्य लक्ष्य रहेको निर्देशक विनोद प्रधानले जानकारी दिए । ‘चलचित्रले सामाजिक कुरितीलाई पर्दाफास गर्ने खालको विषय समेट्ने भएरै हामीले यो चलचित्र निर्माण गरेका हौँ । यो सानो पर्दाबाटै स्थानिय कलाकारले ठाउँ पाउने र आफ्नो कलाकारितालाई आझै निखार्ने मौका मिल्ने हुनाले हामी प्रयास गरेका हौँ ।’ उनले भने, ‘खासगरी भावी पिँढीका सक्षम, सबल, शालिन भोजपुरे कलाकारको उत्पादन तथा कलाकारिताको प्रबद्र्धन र संरक्षण गर्ने लक्ष्यका साथ यो काम थालनी गरेका हाै।’
निमार्ण गरिएको चलचित्रको प्रर्दशनीपछि आगमी दिनमा स्थानीय बिषयबस्तुहरुलाई उठान गरी सस्कृतिलाई संरक्षण गर्ने खालको चलचित्र निमार्ण गरिने पनि निर्देशक प्रधानले बताए । चलचित्रमा सरण प्रधान, अस्मिता राई, विनोद प्रधान, कविता राई, विवेक राई, देवराज प्रधान, सुशिला तामाङ, विरोध बस्नेत, गणेश प्रधान, दिपक शाक्य, मिलन राई, शिव श्रेष्ठ, विनोद भण्डारी र सुरज खड्को मुख्य अभिनय रहेको छ ।