भोजपुरबाट शेरधन र राजेन्द्रको मुख्यमन्त्रीमा दाबेदारी

भोजपुर । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरको दुवै क्षेत्रमा विजयी एमालेका दुई प्रभावशाली युवानेता शेरधन राई र राजेन्द्र कुमार राई प्रदेश नं. १ को मुख्य मन्त्रीमा दाबेदारी देखिएका छन् । लामो समयदेखि शेरधन राई चर्चामा रहदैँ आएका बेला निर्वाचन पश्चात राजेन्द्रकुमार राई पनि दाबेदारका रुपमा देखिएका छन् । राजेन्द्रले क्षेत्र नं १ बाट कुल १९ हजार दुई सय ९७ र शेरधनले क्षेत्र नं २ बाट २० हजार तीन सय ३४ मत ल्याएर विजयी भएका थिए ।
भोजपुर क्षेत्र नं १ को जितपछि राजेन्द्रलाई मुख्य मन्त्रीका रुपमा पार्टीले अगाडी सार्नुपर्ने कार्यकर्ताहरुको जोड रहेकाले पछिल्लो समय उनी पनि मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका छन् । शेरधन भने चुनाव हुनु अगावैदेखि केन्द्रको योजना अनुसार मुख्यमन्त्रीको चर्चामा रहेका थिए । राजेन्द्रले लामो समयदेखि एमालेको राजनीतिमा त्याग गर्दै आएका नेता भएकाले उनलाई अवसरबाट पछि पार्न नहुने कार्यकर्ताहरुको जोड छ । ‘आफुले दाबी गरेर अघि बढेको भन्दा पनि कार्यकर्ताहरुले मेरो नेतृत्व चाहिरहेको अवस्थामा पार्टीले ठाँउ दिए पछि हट्दिन,’ राजेन्द्रले भने, ‘आंकाक्षा मेरो नभएको चाहि होइन ।’
यता शेरधनले आफुलाई पार्टीले लामो समयदेखि योजना बनाएरै मुख्यमन्त्रीमा अघि सारेको दाबी गर्दै आएका छन् । ‘अबको नेतृत्व मेरो हो,’ उनले भने । एमालेभित्र पनि शेरधन केपी ओली गुट र राजेन्द्र माधवकुमार नेपाल गुटका हुन् । शेरधन यसअघि पटक–पटक निर्वाचन लडेर जितेका उम्मेदवार हुन् । विद्यार्थी राजनीति हुदै जनमतसंग्रहकै पालादेखि एमाले राजनीतिमा होमिएका उनी हाल एमाले पोलिट्ब्युरो सदस्य छन् । उनीसंग ०५६, ०६४ र ०७० मा चुनावमा लडेको अनुभव छ । उनी पुर्व सञ्चार मन्त्री र २ पटक सांसद भैसकेका छन् । उनले आफु मुख्यमन्त्री हुने लगभग टुगों भैसकेकाले प्रदेशको विकास निर्माणलाई योजनाबद्ध लैजाने सम्बन्धमा मानसिक तयारी भैसकेको बताउदै आएका छन् ।

जारी संविधानको कार्यान्वयन गर्ने, स्थायी शान्ति, राजनीतिक स्थिरता र देशमा सुशासन कायम गर्ने उनका एजेण्डाभित्र पर्छन् । प्रदेशसंगै जिल्लालाई नमुना प्रदेश बनाउने, भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिंला संखुवासभा हुँदै किमाथांका नाकामा जिल्लाको पहुच जोड्ने योजनालाई प्राथमिकताका राखेको उनी बताउँछन् ।

४० को दशकदेखि राजनीतिक यात्रा सुरु गरेका राजेन्द्र एमाले भित्रका निडर, प्रखर र अविचलित नेता मानिन्छन् । एमाले संम्बद्ध विद्यार्थी संगठनबाट राजनीति थालेका उनले अनेरास्ववियुको महासचिव हुँदै २ पटक अध्यक्ष बनेको इतिहास छ । उनी कार्यकर्ताबाट रुचाइएका अध्ययनशील, निष्ठावान, बैचारिक ज्ञान र भुगोलप्रति माया गर्ने नेता भित्र पर्दछन् ।
अनेरास्ववियूको अध्यक्ष हुदाँ सबै विद्यार्थी संगठनहरुलाई एउटै थलोमा ल्याएर गणतन्त्रको अभियान चलाएका थिए । उनले निर्वाचनका बेला पुर्वको ‘कर्णाली’ मानिने भोजपुरको सडक, विद्युत, पुल, खानेपानी, सिचार्इं, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका पूर्वाधारलाई बिकासे एजेण्डा बनाएका थिए । सरकारको स्थायीत्व र आर्थिक समृद्धिलाई जोड दिएका थिए । ‘जनतालाई धनी र समृद्ध बनाउने, विद्यमान विभेद र असमानतालाई समाप्त पार्दै संघियता कार्यान्वयन मेरो मुख्य एजेण्डा हो, मुख्यमन्त्री पाएको खण्डमा प्रदेश सम्हाल्न सक्ने क्षमता मसंग छ,’ उनले भने ।