५८ बर्षको उमेरमा गिटी कुटेरै जिविकोपार्जन गर्दै जीतबहादुर

जिल्ला प्रहरी कार्यालय भोजपुरको परिसर नजिकै गिटी कुट्दै जीतबहादुर राई

भोजपुर । खोटाङ जिल्ला हाल रुपाकोट मझुवागढी गाउँपालिका ३, दिक्तेल लामाखुका जीतबहादुर राईलाई ५८ बर्षको ढ्रल्कदोँ उमेरमा पनि आफ्नो हाड खियाएर बिहान बेलुकीको छाक टार्न ज्यालामजदुरी गर्ने गर्छन् । छोराछारीको आसमा विश्राम लिएर आनन्दले एक मुठि मिठोमसिनो खाएर बस्ने उमेरमा उनलाई सुख छैन ।
आफ्नो जिवीका चलाउने क्रममा ०७४ भदौ पहिलो साता ताका महिनामा ज्यालामजदुरीको काम खोज्दै भोजपुर आएका उनी र उनकी ५२ बर्षिया श्रीमती जसकुमारी राईलाई साथमा लिएर निर्माणाधिन जिल्ला प्रहरी कार्यालय भोजपुरको भवन निर्माणार्थ गिटि कुट्ने, बालुवा चाल्ने, सिमेन्ट बोक्ने लगायतका मजदुरी गर्न थाले ।
स्थानिय भोजपुर सदरमुकाममा कोठाभाडा लिई बसेका ती दुई दम्पती दिनभर विश्राम नभनी गिटी कुट्ने गर्छन् । जहाँ गएपनि पेट पाल्नलाई नै भएपनि मजदुरी गरिरहेका उनीहरुको सन्तानको नाममा २० बर्षिया छोरी अस्मिता र १८ बर्षिया अर्की छोरी सुस्मिता जसको खोटाङकै दिक्तेलमै दुई राई केटोसंग विवाह भईसकेको छ ।
दिक्तेल रहँदा घरबेटी महेन्द्र कुमारी राईले घरमा बस्ने दुई राई केटाहरुलाई फकाईफुलाई गरेर छोरीहरुलाई आफुलाई थाहै नदिई रातीनै भगाउन लगाएको उनको आक्रोश पोख्छन् । ‘आफुलाई त षडयन्त्र ग¥यो ग¥यो मेरो छोरीहरुलाई पनि ललाईफकाई गरेर भगाउन लगायो ।’ उनले भावुकतामा भने, ‘आखिर मैले के नै पो गल्ती के नै पो खाएको थिएँ र त्यसको । मेरो छोेरीहरु भगायो । माया–ममतामा दुःखले हुर्काएर पढाउँदै थिएँ तर त्यो पापीले त्यो पनि देख्न सकेन ।’
टोपी बुन्ने पुरानो पेशालाई दिक्तेलमै बसेर धान्दै आएका उनीहरु आफ्नै घरबेटी साहुनीको षडायन्त्रकारी प्रवृतिबाट त्यहाँबाट विस्थापित भएर कामको शिलशिलामा भोजपुर आएको राई गुनासो पोख्छन् । ‘आफ्नै घरधनी साहुनी विभिन्न षडयन्त्र गरि अलिअलि गरी खा’को पनि देख्न सकेनन् । अति नै तितो व्यवहार र बचन खप्न नसकेपछि हामी त्यो घर छोडेर हिँड्यौँ ।’ उनले दुखेसो गरे । २०५१ सालमा गाउँ छोडी सदरमुकाम छिरेका उनीहरु वैवाहिक जिवनपछि छोरीहरु पढाउनै दुःखसुख ज्यालामजदुरी गर्दै आएको जित बहादुर सुनाउँछन् ।
छोरीहरुलाई भाडामै बस्ने केटाहरुलाई फकाईफुलाई गरी भगाउन लगाएपछि उनले पुलिस रिपोर्ट लेखाउँदा पनि बोल्ने मान्छे नभएपछि न्याय नपाएको गुनासो गरे । उनले भने, ‘गरिब, दुःखीको सुनिदिने यो दुनियाँमा को नै पो हुँदो रहेछ र । सबै हुनेखाने, धनी, प्रतिष्ठा भा’कोहरुको हैकम चल्दो रहेछ यहाँ ।’
दिनभर तातो घाममा पसिना बगाएर कुटेको गिटीले दुईजनालाई खानलाउन पुगेपनि श्रीमतीको उपचार खर्चको लागि पनि काममा लुप्त हुने गर्छन, जित बहादुर । दिनभर कुटेको गिटीको रासमध्ये एक ट्रयाक्टर गिटी बराबर उनीहरुले २२ सय देखि २५ सय रुपैयासम्म पारिश्रामिक बुझ्ने गर्छन् ।
सदरमुकाम बस्दा ढाका उद्योग खोलेर बस्दा पनि घरधनीले त्यहाँबाट षडयन्त्र गरि निकालिदिएको उनी बढो दुःखका साथ सम्झन्छन् । केहि महिना अघि कामको खोज्ने शिलशिलामा आएका उनीहरु बुढाबुढी दम्पती केहि जोहो गर्न विहान घर बनाउनेको ढुङ्गा, सिमेन्ट, ढलान, फलाम बोक्ने काम गर्छन् र दिउँसो त्यही गिटी कुटेर दैनिकी चलाउदै आएका छन् ।
अभागी खप्पर जहाँ गएपनि ठक्कर भनेझैँ खोटाङदेखि भोजपुर आएका यी दुई दम्पती चर्को कोठाभाडा तिरेर एकछाक टार्न यही मजदुरी गरिरहेका छन् । ढल्कदो उमेरमा पत्नी पनि रोगी भएकाले जितबहादुरलाई छाकभन्दा पनि आईपरेको बेला उपचार खर्च कसरी जुटाउने भन्नेमा पनि चिन्ता छ ।