भोजपुर–काठमाडौ पौष १९ बाट ताराले उडान गर्ने

काठमाडौ । प्राइभेट कम्पनीको तारा इयरले भोजपुर काठमाडौ उडान गर्ने भएको छ । ताराले पौष १९ गते बुधबारदेखि हप्तामा एक पटक उडान गर्ने भएको हो ।
भोजपुरको विकास र पर्यटनलाई मध्यनजर गर्दै ताराले भोजपुरको एयरपोर्ट कालोपत्रे भएपछि पहिलो पटक उडान गर्न लागेको हो । ‘अहिले तत्कालको लागि हप्ताको एउटा उडान हुन्छ तारा इयर ९ बजेर २० मिनेट जाँदा काठमाडौबाट उड्छ’ लालुपाते ट्राभल्सका कार्यकारी अध्यक्ष रोशन श्रेष्ठले बताए । श्रेष्ठले थपे ‘यात्रुको चापलाई ध्यान दिन्छौ, यात्रु सधै भइरहेमा हप्तामा ३ दिन तारा इयर भोजपुर काठमाडौ उडाउन तयार छौ ।’
लालुपाते ट्राभल्सको समन्वयमा तारा इयर भोजपुर–काठमाडौ ल्याउन लागेको यो दोस्रो पटक हो । हालको लागि तारा इयरको टिकट प्रतिव्यक्ति ४ हजार ८ सय ६५ रुपैेया कायम गरिएको जनाएको छ ।
यसरी नै नीजि क्षेत्रका वायुसेवा कम्पनीका जहाजहरु भोजपुरमा थपिदै जाने हो भने भोजपुरको पर्यटन विकासमा टेवा पुग्ने जानकारहरुको भनाइ रहेको छ । भोजपुरमा हाल नेपाल वायुसेवा कम्पनीका जहाजले हप्ताको ४ पटक काठमाडौ र २ पटक विराटनगर उडान गर्दै आएको छ ।