
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट आज गर्ने भएको छ । समानुपातिकतर्फको गणना पुस २ मा सकाएको आयोगले त्यसको पाँच दिनपछि दुवैतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको हो ।
आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।
प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम सकिसकेको आयोगले शुक्रबार दिउँसो बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । राजनीतिक दललाई पठाउने पत्र र आयोगको बैठकमा पेश गर्ने प्रस्ताव तयारीमा आयोग जुटिरहेको बताइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकामा प्रत्यक्षतर्फको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।
उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएकोमा प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ बदर मतको संख्या निकै बढी रहेको बताइएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १.५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसद्मा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै राजनीतिक दललाई उम्मेदवारको बन्दसूचीको लागि पेश गरेको समावेशीको आधार मिलाएर एक साताभित्र केन्द्रीय कार्यसमितिको वैठकबाट नाम अनुमोदन गराएर पठाउन समयावधि प्रदान गर्नेछ ।
उक्त समयावधिभित्र आएको नामलाई सच्याउन वा मिलाउन चाहने राजनीतिक दललाई थप तीनदिनको समय प्रदान गरिनेछ । त्यसपछि बन्दसूचीमा पेश भएका क्रमअनुसारका आधारमा राजनीतिक दलले प्राप्त गरेका सिट र विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्नेछ ।
समानुपातिक निर्वाचनमा प्रतिनिधिसभातर्फ ४९ र प्रदेशसभातर्फ विभिन्न संख्यामा राजनीतिक दलले भाग लिएका थिए । उक्त निर्वाचनमा नेकपा (एमाले) ले सबैभन्दा बढी मत हासिल गर्न सफल भएको थियो भने कांग्रेसले एमालेपछिको धेरै प्राप्त गरेको थियो ।