६ महिने नेपाली सांकेतिक भाषाको तालिम सकियो, बहिरा विद्यालय खोल्न अनुरोध

भोजपुर । एक अर्कासँग सञ्चार सहज बनाउन र पढ्न नपाएका बहिराहरुलाई साक्षर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको ६ महिने नेपाली साङ्केतिक भाषाको तालिम शुक्रबार समापन भएको छ ।
कार्यक्रममा सरोकारवाला निकायहरुसंग बहिरा विद्यालय स्थापना विषयक अन्र्तक्रिया पनि चलाईएको थियो । बहिराहरु समाजको बहुप्रतिभावान अभिन्न अंग हो भन्दै उनीहरुलाई सबै क्षेत्रबाट अवसरहरु प्रदान गरिनुपर्ने जिल्ला शिक्षा अधिकारी डम्बरध्वज आङ्देम्बेको भनाई थियो । ‘बहिराहरु समाजका ऐना हुन्, जसले दक्षता र क्षमतालाई सपाङ्गलेभन्दा बढी प्रस्तुत गर्न सक्छन् ।’ उनले भने, ‘त्यसैले यी समाजका अभिन्न अंगलाई हरक्षेत्रबाट समेट्नु र अवसर प्रदान गरिनुपर्दछ ।’
कार्यक्रममा सहभागीहरु अबिर, प्रमाणपत्र प्रदानगरि सम्मान गरिएको थियो । माई–राईटरडीडीएफ स्वीडेनको आर्थिक सहयोग, राष्ट्रिय बहिरा महासंघ नेपालको सहकार्य र भोजपुर बहिरा संिघको संयुक्त आयोजनामा भएको तालिममा भोजपुरका विभिन्न स्थानका १२ जना बहिराहरु र ३ जना अभिभावकसहित १५ जनाको सहभागिता थियो । भोजपुरका बहिराहरुको लागि गत ०७४ जेष्ठ १ गतेबाट शुरु भएको सो भाषा तथा आधारभूत शिक्षा तालिममा संघ जिल्ला अध्यक्ष सिताराम ओझाले प्रशिक्षण दिएका थिए ।