भोजपुर । प्याजको भाउ एक्कासी आकाशिएपछि यतिबेला भोजपुर सदरमुकाम र आसपासका उपभोक्ताहरु मार परेका छन् । कार्तिक पहिलो साताबाट दैनिक उपभोग्य तरकारीसब्जीको रुपमा लिईने प्याजको मूल्य तीन गुणा बढेपछि यहाँका उपभोक्ताहरु अहिले मंहगो मूल्य तिरेरै प्याज किन्ने गरेका छन् ।
मंहगो प्याजको भाउ बढेपछि उपभोक्ताहरुलाई प्याजको सट्टा अन्य तरकारीमै निर्भर हुनु परेको छ । ‘प्याजको भाउ छोई नसक्नु छ । यसको सट्टा अरु तरकारीमै पैसा तिरेर खाईन्छ ।’ स्थानिय शनिबारे हटियाबाट सब्जी किनेर फर्कदैँ गरेकी भोजपुर नगरपालिका ७, डाँडागाउँ निबासी तारा चौहानले भनिन् । बजारक्षेत्रका मानिसहरु, कोठाभाडा लिएर बस्ने कर्मचारी, गृहिणी, विद्यार्थीलाई हप्ताको ६ दिनसम्म हटियामा किनेको सामानले टार्नुपर्ने अवस्थामा प्याजको भाउ बढ्दा मंहगो मूल्य तिरेरै उपभोग गर्ने गरेका छन् ।
प्रतिकिलो ३० रुपैँया पर्ने ठुलो, रातो प्याज अहिले स्थानिय बजारमा प्रतिकिलो एक सय ३० रुपैँयासम्म किनबेच हुने गरेको छ । बजार क्षेत्रका होटल, गेष्टहाउसहरुमा प्याजको बढी खपत हुने गरेपनि प्याजको मूल्य अचानक आकाशिँदा मंहगो मूल्य तिरेरै भएपनि उपभोग गर्नुपर्ने बाध्य रहेको भोजपुर सदरमुकामका एक होटल व्यावसायी गणेश श्रेष्ठले सुनाउँछन् । ‘होटलमा दैनिकजसो खाजा–नास्तामा, खाना बनाउन प्याज नभई हुन्न । त्यो माथि मःम, चाउमिन, थु्क्पा, सुप, अन्य नास्तालाई नभई नहुने प्याजको तेब्बर मूल्य बढीदिँदा मंहगो पैसा तिरेरै किन्नुपर्ने बाध्यता छ ।’ उनले भने ।
भारतबाट विराटनगर, धरान हुँदै भोजपुर सदरमुकामसम्म ढुवानी गरेर ल्याउँदा यातायात ढुवानी खर्च, सामान उठाउने खर्च, भन्सार कर झेल्दै स्थानिय बजारमा ल्याईपु¥याउँदा प्रतिकेजी ३०÷४० रुपैँयामा किनबेच गर्नुपर्ने त्यसमाथि पछिल्लो डेढ महिनादेखि तलबाटै एक सय १५÷१६ रुपैँयाले मंहगो मूल्यमा प्याज उठाएर ३÷४ रुपैयाँमा ढुवानी खर्च तिरेर यहाँ ल्याई उपभोक्तालाई मंहगो मूल्यमा बेच्नुपर्ने बाध्य रहेको एक स्थानिय व्यावासायी सल्मा उदास बताउँछिन् । ‘तलबाटै सामान उठाउँदा प्रतिकिलो प्याज एक सय १६ रुपैँयासम्म हालेर उठाउनुपर्ने हुन्छ । यहाँसम्म आईपुग्दा ढुवानी खर्च सबै हिसाब गर्दा मूल्य आखिर उहि हुन्छ । केहि समयपछि प्याजको मूल्य घट्ला की?’ उनले बताईन् ।
खरिद गरी भोजपुरसम्म ल्याउँदा कतिपय बोराका प्याजहरु भित्रै कुहिने, फ्याँक्नुपर्ने, केलाएर सुकाउनुपर्ने हुन्छ । यसरी झण्झटिलो मंहगो मूल्यमा दुईचार दिन ढुवानी गरेर बेच्नुपरेको बाध्यता अर्का तरकारी व्यावसायी पर्शुराम शेर्पा बताउँछन् । वर्षातको समयमा हिलाम्मे मंहगो ढुवानी तिरेजस्तै बाटो राम्रो खुलेपछि पनि बढी मूल्य खर्चेर सामान ढुवानी गर्नुपरेको उनी बताउँछन् ।
सदरमुकाममा भाडा लिएर पढ्न बसेका विद्यार्थीहरु पनि आधाकिलो प्याजले हप्ता १० दिन काट्ने गरेको बताउँछन् । ‘शनिबार किनेको आधा किलो प्याजले ८÷१० दिन धान्नु परेको छ । एक किलो प्याज मसलामा, तरकारीमा, अचारमा, अरु खाने परिकारमा सिद्धिन्थ्यो । तर भाउ छोईनसक्नु भएपछि आधाकिलो प्याजलाई थोरैथोरै फारो गरेर चलाउँछौँ ।’ स्थानिय बैङ्करोडमा कोठाभाडा लिएर बसेका कक्षा १२ मा अध्ययनरत संगम राई भन्छन् । सदरमुकाममा र आसपासका क्षेत्र गरी करिब चार सयभन्दा बढी घर र २५ हजार मानिसहरु शनिबार र बुधबार लाग्ने हाटबाटै सप्ताहभर तरकारी, सब्जी, मासुमा लाभान्वित छन् ।