भोजपुर । कालोपत्रे भएको दश महिना नबित्दै सदरमुकाम जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर नारदमुनि थुलुङ राजमार्ग भत्किन तथा उप्किन थालेको जनगुनासो बढेको छ । ढलान कजवेहरु बगेका तथा रडहरु प्रष्टै देखिन थालेका र कालोपत्रे सहजै उप्किने गरेको नवनिर्वाचित जनप्रतिनिधि, जिल्लाबासी, नागरीक समाज, प्रत्यक्षदर्शी तथा सरोकारवालाको गुनासो छ ।
कालोपत्रेको काम चित्तबुझ्दो हुन नसकेको उनीहरुको तर्क छ । प्रत्यक्षदर्शी टेम्केमैयुङ गाउापालिका प्रमुख धुर्व राईले भने, ‘काम मापदण्ड अनुसार भएन भन्ने आवाजहरु बढिराखेका छन्, म आफुले हेर्दा पनि खासै राम्रो देख्दिन, अलकत्रा नपुगेको जस्तो देखिन्छ, हातैले प्वाक्क–प्वाक्क उप्किन्छ ।’ ‘दशै महिनामा त वाल नभत्कनुपर्ने हो, रड पुरै देखिन्छन्,’ अर्का प्रत्यक्षदर्शी साल्पासिलिछो गाउँपालिकाका राजेश राईले भने ।
यस राजमार्ग छिमेकी जिल्ला धनकुटाको सिमाना लेगुवाघाट, अरुण, पौवादुङ्मा गाउापालिका तथा भोजपुर नगरपालिकाको भैसिपंखा, पानीट्याकीं हुदै सदरमुकाम जोडिएको छ । बाहिरी जिल्लासंग जोड्ने एक मात्र राजमार्ग समेत हो । ०६४ सालयता मध्यपहाडी लोकमार्ग आयोजनाले छिमेकी जिल्ला धनकुटासंगको सिमाना लेगुवाघाँट हुदै सदरमुकाममा जोडेको थियो ।
जोडिएको एक दशकपछि भैरहेको कालोपत्रे दश महिना नबित्दै भत्कन तथा उप्कन थालेपछि सम्पन्न भैसक्दासम्म टिक्ला या नटिक्ला ? चासोको बिषय बनेको छ । ‘पहिले धुले सडक हुदा कालोपत्रे कहिले होला भन्ने लाग्थ्यो, यसबेला बल्लतल्ल भैराखेको पनि कति दिन टिक्ने हो बडो गुणस्तरमाथि शंकाको बिषय बनेको छ,’ जरायोटार, माझीगाउाकी सिर्जना थापा बताउछिन् ।
एसियाली विकास बैकको आर्थिक सहयोगमा कालोपत्रे भैरहेको कालोपत्रेका लागि चिनिया कम्पनि टियन्जीन–रमण–कन्काई जेभीले ९९ करोड ४४ लाख ६८ हजारमा संयुक्त रुपमा ठेक्का लिएर काम गरिरहेका छन् । उनीहरुले सन् २०१८ को जनवरीमा सम्पन्न गर्ने गरी २०१५ को डिसेम्बरदेखी काम थालेका थिए । गतबर्षको चैत्र १२ बाट लेगुवाघाट देखी भोजपुरतर्फ कालोपत्रे सुरु भएको थियो ।
लेगुवाघाटदेखि भोजपुर तर्फ जरायोटारसम्म १२ किमि कालोपत्रे सकिएको छ । ५४ किमिको काम भैरहेको छ । ठेकेदार कम्पनिलाई तोकिएको म्याद सकिन लागेका कारण कामको चटारो छ । साथै पछिल्लो समय गुणस्तरबारे आउन थालेका गुनासाबारे जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले समेत अनुगमन गरेका छैनन् । नागरिक समाजका संयोजक पर्शुराम तिवारीले भन्छन्, ‘समय समयमा अनुमगन हुनुपर्ने हो, यसका अरुण, पौवादुङ्मा, भोजपुर, जिल्ला समन्वय समितिका जनप्रतिनिधि, जिल्ला प्रशासन लगायतले नेतृत्व गर्नुपर्ने हो, हुन सकेको छैन ।’
ठेकेदार कम्पनिले भने स्टिमेटअनुसार मापदण्डमा रहेर काम गरेको दाबी गरेको छ । इन्जिनियरका अनुसार रोडा र बालुवा बिछ्याएर उठाएको बेसमा कम्प्रेसर मेसिनले धुलो उडाएर विटुमिन डिस्ट्रिव्युटरले प्राइम लगाएर सुकाएपछि अलकत्रा लगाइन्छ । त्यसमाथि १४ एमएम बाक्लो रोडा हालेर रोलरले पेलिन्छ ।
एक महिनापश्चात थप अर्को तह अलकत्रा हालेर १० एमएम बाक्लो रोडा हालेर पुनः रोलिङ्ग गरेपछि पुर्णरुपमा कालोपत्रे सम्पन्न गरिन्छ । उनले भने अनुसार कालोपत्रे दरिलो र दिगो हुनुपर्ने भएपनि सहजै उप्किने गरेको र गुणस्तरका सवालमा आइरहेका गुनासाबारे ठेकेदार कम्पनिका हरिभक्त पोखरेललाई सोध्दा आफुलाई यसबारे कहि जानकारी नहुने बताए । उनले भने, ‘हामी ठेकेदार कम्पनिको काम स्टिमेटअनुसार काम गर्ने हो, अन्य कुरा सडक आयोजना प्रमुखसंग सोध्नुहोस् ।’ आयोजना प्रमुख गोविन्दप्रसाद वाग्लेलाई सोध्दा ‘सरफेस बेस’ अन्तर्गतको कालोपत्रे भएकाले तत्कालै हेर्दा गुणस्तर नछुट्टिने बताए ।
‘कालोपत्रेमा अलकत्रा छर्केर रोडा हालिसकेपछि रोलरले पेलेर बलियो बनाउने हो, यसका लागि केहि हप्ता लाग्छ, आजको भोलीलाई नै त गुणस्तरहिन भन्न मिल्दैन ।’ कजवेका सन्दर्भमा मध्यपहाडि जोडिदैगर्दा निर्माण गरिएका कारण भत्किएकाले मर्मत गरिने बताए । उनले पुनः भने, ‘काम सम्पन्न गर्दा सम्पुर्ण चेकजाँच गरेर मात्रै फाइनल गर्ने हो, त्यहि कारण अहिल्यै गुणस्तरहिन भन्न नमिल्ला कि’ सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यसबारे आफुले पहिलोपटक जानकारी पाइरहेकाले आयोजना र ठेकेदार कम्पनिसंग सोधपुछ र आवश्यक अनुगमन गर्ने बताए ।