भोजपुरमा दु:खहरण पुजा – २०१८ सम्पन्न

भोजपुर । संसारमा एक न एक पिडाले मानिस चिन्तित भईरहेका हुन्छन् । जबसम्म मानिस खुशि भएको महसुस गर्दैनन् तबसम्म उसले आफुलाई दुखि भएको आभाष गर्छन् । मानिस जन्मेदेखि मृत्यु नभएसम्म अनेकौं दुखको सामना गरिरहेको हुन्छ । मानिसहरू दुखबाट कहिले मुक्ति पाउ भन्दै दिनरात भौतारिएर हिडिरहेको हुन्छ । तर मानिसलाई यो थाहा हुदैन कि दुख मानिसको जिवनको सबैभन्दा प्यारो र साथ नछाड्ने साथी हो भनेर । दुख मानिसको जन्म देखि मृत्यु नहुन्जेलसम्मको लागि कहिल्यै साथ नछाड्ने साथी हो ।

भोजपुर नगरपालिका वडा न: २, हेलौछामा स्वार्गिक मार्ग संघ जिल्ला शाखा भोजपुरको आयोजनामा दुखहरण पुजा -२०१८ सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्ष २०१८ को जनवरी १ मा नेपाल लगायत विश्वको धेरै देशहरुमा मनाईन्छ । विहान ५ बजे नेपालको ३७ भन्दा बढि जिल्लाहरुमा पुजाको आरम्भ भएको हो । भोजपुरको जिल्लाको हकमा साविकको हेलौछा गाविसको गाविस भवन नजिकै उक्त कार्यक्रम सम्पन्न भएको हो । दुखहरण पुजा मानवजाती लगायत प्राणी जगत, प्राकृतिक वनस्पतिको रक्षाको निम्ति रहेको थियो ।

दुखहरण पुजा कार्यक्रममा भोजपुर जिल्ला भरिका स्वर्गयात्रीहरुको उपस्थिति रहेको थियो । स्वार्गिक मार्ग संघ जिल्ला शाखा भोजपुरका अध्यक्ष मोहन राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा भोजपुर नगरपालिका वडा न:२ का वडाध्यक्ष कुमार राई प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो । पुजामा भोजपुर नगरपालिका वडा न:१ , ३ का वडाध्यक्षद्वय विशेष अतिथिको रुपमा हुनुहुन्थ्यो । साथै हिन्दु धर्मका धार्मिक पुरोहित , बौद्ध गुम्बाका प्रतिनिधि लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।

बिहान ५ बजेबाट सुरुवात भएको उक्त कार्यक्रममा संस्कार प्रमुखका रुपमा सुनसरीका सुमन राई (यात्री) हुनुहुन्थ्यो । संस्कार प्रमुख सुमन राईले दिप प्रज्वलन गरेर पुजाको सुभारम्भ गर्नुभएको थियो । उक्त दुखहरण पुजामा भोजपुर भरिका १६ जना शैईङहरुले पवित्र ग्रन्थ निशुई वाचन गरेका थिए । साथै भोजपुरको विभिन्न ठाउँका युवाहरु होल कार्यकर्ताको रुपमा कार्यक्रममा खटिएका थिए ।

“पुजा आराधना गर्दा शरिर होइन , आत्मा शुद्व हुनपर्दछ ।” भन्ने धारणाका साथ सञ्चालित कार्यक्रममा सम्पूर्ण अतिथिहरुले मन्तव्य राख्नुभएको थियो । पुजा कार्यक्रममा बोल्दै अतिथिहरुले संसारमा धार्मिक सहिष्णुता नभएको कारणले नै संसारबाट शान्ति हराईरहेको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष मोहन राईले स्वार्गिक मार्गको उदेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो ।