बन्दकर्ता प्रकाउ, गाडीमा तोडफोड, धनकुटामा आन्दोलन चर्कियो

धनकुटा । बन्द अवज्ञा गरेको भन्दै धनकुटामा चार वटा सवारी साधनमा बन्दकर्ताले तोडफोड गरेका छन् । प्रादेशिक राजधानीको माग राख्दै आएका धनकुटावासीले गरेको बन्दका क्रममा दुई सरकारी, एक संस्थान र एक भाडाको सवारी साधनमा क्षति पुऱ्याएका छन् ।

मोरङ कारागारको को.१ झ ४८३ नंबरको जिप तथा को.१ झ १६९ नंबरको एक सरकारी नंबर प्लेटको गाडी तोडफोड गरिएको प्रहरीले जनाएको छ।

यसैगरी ना.१ ज ६४११ नंबरको टाटा सुमो र ना ७ ख ४७६० नंबरको दूध बोक्ने गाडीमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।

एक पक्राउ

सवारी साधनमा तोडफोड गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा संखुवासभाका सुमन कटुवाल छन्। अपरान्ह पॉच बजेदेखि बन्द फिर्ता लिने भनिए पनि पक्राउ गरिएपछि आन्दोलनरत पक्ष उत्तेजित बनेपछि त्यहॉको माहोल असामान्य बनेको छ। पक्राउ गरिएका कटुवाल प्रहरीको कुटाइबाट घाइते भएको स्रोतले जनाएको छ।

आन्दोलनरत पक्षले पक्राउ गरिएका व्यक्तिलाई मुक्त गरेपछि मात्र बन्दको कार्यक्रम फिर्ता लिने जनाएको छ। तर, स्थानीय प्रशासनले सवारी साधनमा तोडफोड गरेकोले बन्द आव्हानकर्ताबाट क्षतिपुर्ति दिनु पर्ने जनाएको छ। सार्वजनिक सम्पत्ति क्षति पुऱ्याउनेक्रम बढ्न सक्ने भन्दै कडाई गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनले प्रशासनले भरपुर संयमता अपनाएको दाबी गरे।

बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएपछि यात्रु अलपत्र परेका छन्। बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट, जिरो प्वाइन्टलगायतका स्थानमा रोकिएका छन्। ती स्थानमा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन्। बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ।

सरकारले आफ्नो माग नसुनेकोले आन्दोलन जारी राखिएको आन्दोलन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।
(कान्तिपुर)