
सङ्खुवासभा- सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा सामुहिक हत्या गरिएकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।
बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए । मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
परिवारै सखाप बनाएको घटनापछि मादी–१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताए । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए ।
घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्कीको भनाइ छ । तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ सङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् ।