भोजपुरमा चार महिना पछि कोरोना संक्रमण नतिजा शुन्य

भोजपुर,२७ भदौ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट आज कोहिपनि संक्रमित देखिएका छैनन् । आज ३ जनाको कोरोना परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए । जिल्लामा बैशाख १६ वाट दोस्रो लहरको कोरोना संक्रमण देखिएको थियो ।

जिल्लामा हालसम्म दोस्रो लहरमा कोभिड १९ को जम्मा ३ सय ९६ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ३ जनाको को कोरोना रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ६३ सय १९ जनाको परिक्षण गरिएकोमा १८सय ४२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै भोजपुर नगरपालिकामा ६ सय २८ जनालाई कोरोना संक्रमण देखिएको छ। जिल्लाको षडानन्द नगरपालिकामा १६६, हतुवागढी गाउँपालिकामा २१५, आमचोकमा १०३, पौवादुम्मामा ५०, अरुणमा १६४, राम प्रसाद राईमा १६२ , टेम्के मैयुंगमा २७८ जना र साल्पा सिलिंछो गाउँपालिकामा १७९ जना संक्रमित भएकाछन् ।

भोजपुरमा ३६ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत् रहेकाछन् । जिल्ला वाहिर ४० जनालाई उपचारको लागि पठाईएको छ । जिल्लामा संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा ३५जना रहेकाछन् । कोभिडवाट भोजपुरका १० जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हाल सम्म १८ सय ५८ जना कोरोना संक्रमण मुक्त भएकाछन् । कोरोना संक्रमण मुक्त हुने मध्ये भोजपुरमा ५९८, षडानन्द नगरपालिकामा १५४ जना, आमचोकमा ९७, साल्पा सिलिंछोमा १७६, टेम्के मैयुंगमा २६७ ,पौवादुम्मामा ४५,अरुण गाउँपालिकामा १५५ जना राम प्रसाद राईमा १५९ र हतुवागढी गाउँपालिकामा २०७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा कोरोना भाईरसको लक्षण देखिएता पनि लुकाएर परीक्षण गर्न हिच्किचाउने कारण कोरोना भाईरस संक्रमित कम देखिएको जानकारहरु बताउँछन् । भोजपुरमा टेस्ट किटको भने अभाव नभएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बुढाथोकीले वताए । उनले भने “प्रत्येक पालिकाको केन्द्रमा पर्याप्त टेस्ट किट र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ , त्यहाँ गएर लक्षण देखिनेले परीक्षण गर्न सक्नुहुनेछ ।”