
काठमाडौं- नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेका हुन् ।
पौने चार बजेबाट सुरु भएको बैठककमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सारेका थिए । त्यसमा एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए । पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्किएका थिए । देउवा झोक्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए । तर केही नेताले उनलाई समाएर बस्न आग्रह गरेका थिए ।
केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए । देउवा निस्किएपछि पनि अरू नेताहरू बसेर महाधिवेशनसँग सम्बन्धित केही निर्णय गरेका छन् ।