दिंला, १४ कात्तिक- रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुको पुरस्कार प्रायोजन तथा षडानन्द नगरपालिका ६ खेलकुद विकास समितिको आयोजनामा फुटवल प्रतियोगिता शुरु भएको छ । आज एक औपचारिक कार्यक्रमकाविच कार्यक्रमको प्रमुख अतिथि समेत रहेका षडानन्द नगरपालिकाका प्रमुख विरवल राईले पानसमा बत्ती वालेर प्रतियोगिताको उद्घाटन गरेकाहुन् ।
स्थानिय घ्याम्पे रंगशालामा आजवाट सञ्चालन भएको प्रतियोगितामा भोजपुर र संखुवासभाका २३ टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागि खेलाडीका साथै स्थायिन अरुण माध्यमिक विद्यालय र षडानन्द माध्यमिक विद्यालयले खेलमैदानमा मार्चपास गरेका थिए । प्रतियोगिताको उद्घाटन स्वरुप अतिथि र आयोजकका विच मैत्रिपूर्ण खेल आयोजना गरिएको थियो । खेलमा आयोजक २-१ गोल अन्तरले बिजयी भयो ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै षडानन्द नगरपालिकाका मेयर विरवल राईले नगरपालिका भित्र आयोजना हुने खेलकुद प्रतियोगितामा नगरपालिकाले उल्लेख्य सहयोग गर्दै आएको वताए । उनले आउँदा दिनमा पनि खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए ।
कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गर्ने क्रममा षडानन्द नगरपालिका ६ का सुजन राईले वडाभित्र खेलकुद लगायत हरेक क्षेत्रमा कुनै कमि नगरि बजेट विनियोजन गरेको दावि गरे । फुटवल लगायत हरेक खेलमा वडाले बजेट विनियोजन गरिरहेको उनले वताए । उनले भने हामीले २ बर्ष अघि ६५ जनालाई फुटवल प्रशिक्षण दिई सकेका छौं , कोभिडका कारण खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिरहेका थिएनौं अव समय परिस्थितिले साथ दिएमा निरन्तर प्रतियोगिताहरु सञ्चालन गरेर खेलकुदको दिगो विकासमा लागिरहने छौं ।
अमेरिकामा रहेका नगेश भट्ट, अष्ट्रेलियामा रहेका उमेश वस्नेत र जापानमा रहेका युगल बोगटीको १ लाख पुरस्कार प्रायोजनमा प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थानिय घ्याम्पे रंगशालामा कार्तिक १४ वाट सञ्चालन हुने खुल्ला पुरुष फुटबल प्रतियोगिताको लागि भट्टले प्रथम पुरस्कार वापतको ५० हजार, वस्नेतले द्वितीय पुरस्कार वापतको ३० हजार र बोगटीले तृतीय पुरस्कार वापतको २० हजार पुरस्कार प्रायोजन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतियोगिताको लागि वडा नम्वर ६ कार्यालयले १ लाख प्रायोजन गरेको छ ।
कुनै समय खेलकुदको हिसावले भोजपुरको उत्तरी क्षेत्र उर्वर मानिएपनि पछिल्लो समय खेलकुद गतिविधि प्रायः शुन्य हुँदै गएको छ । खेलकुद गतिविधि कम हुँदा सरोकारवालामा नैराश्यता बढिरहेको अवस्थामा वडा खेलकुद समितिले प्रतियोगिता आयोजना गरेको हो । लामो समयपछि यस क्षेत्रमा खेलकुद प्रतियोगिता सञ्चालन हुँदा दर्शक तथा खेलाडीमा उत्साह छाएको दर्शक तथा खेलाडीहरुको प्रतिक्रिया छ ।
प्रतियोगिताको उद्घाटन सँगै आज एउटा खेल पनि सम्पन्न भएको छ । आज भएको एक मात्र खेलमा ठाकुरपाल तामांग स्मृति क्लवले विजयी शुरुवात गरेको छ । ठाकुरपाल स्मृति क्लवले मथेटार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।