
दिंला- प्रदेश नम्वर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र कुमार राई सँग गृहनगर षडानन्द नगरपालिकाबासीले पक्की अरुण नदिमा पुलको माग गरेकाछन् । ११ बर्ष अघिदेखि निर्माण शुरु भएर पुल अलपत्र रहेपछि गाउँलेले विकासको वाटो खुलाउन भन्दै पुल माग गरेकाहुन् ।स्थानियले पुलका अलावा शिक्षा, खेलकुद, पर्यटन, कला सँस्कृति लगायतका क्षेत्रको विकासको लागि पनि माग गरेकाछन् ।
सोमवार षडानन्द नगरपालिकाको केन्द्र दिंला बजार पुगेका राईलाई विभिन्न राजनीतिकदलका साथै संघ संस्थाका प्रतिनिधिले स्वागत गर्दै पुलको माग गरेकाहुन् । नगरपालिका भित्रै ३ ठाउँमा पुल निर्माणको प्रक्रियामा रहेता पनि उल्लेखित उपलव्धि हुन नसकेको स्थानियवासीको गुनासो छ ।
नदिको लम्सुवा खण्डमा ११ बर्षदेखि पुल निर्माण शुरु भएता पनि विभिन्न कारण देखाउदैं ठेकेदारले काम अलपत्र पारेर छाडेको छ । यता कात्तिकेघाट खण्डमा पनि विगत ३ बर्षदेखि पुल निर्माण कार्य थालिएको भएतापनि धिमा गतिमा काम भईरहेको छ । सतिघाट खण्डमा पुलको डिपिआर निर्माण कार्य भईरहेको भएतापनि उल्लेख्य बजेट विनियोजन हुन नसकेको वताईएको छ ।
अरुण नदिमा पुल नवन्दा हिउँदमा घण्टौं पर्खेर यातायातका साधन फेरीवाट अरुण नदि तार्नुपर्ने बाध्यता छ भने बर्षातको समयमा फेरी नचल्ने हुँदा यातायातका साधन पनि वारिपारी गर्न नसक्दा भोजपुरको षडानन्द र साल्पासिलिंछो गाउँपालिकाका वासिन्दाले प्रत्यक्ष सास्ती खेप्नुपर्दै आएको छ ।
नगरवासी सामु मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणसहित अरुण नदीमा कुनै पनि हालतमा पुल निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेकाछन् । भोजपुरको षडानन्द र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा पक्की पुल निर्माण हुन नसकेकामा आफू दुःखी रहेको मुख्यमन्त्री राईले बताए ।
‘विगतमा यहाँ पुल निर्माण कार्य हुन सकेन,’ उनले भने, ‘मेरो कार्यकाल छोटो भएपनि अरुण नदीमा पक्की पुल निर्माण गर्छु ।’
षडानन्द नगरपालिकाबासीले आफ्ना लागि आयोजना गरेको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले पूर्वमुख्यमन्त्रीहरूले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै नगरेको आरोप लगाए ।
तर, प्रदेशमा अहिलेसम्म त्यस्तो नभएको भन्दै उनले अब गठबन्धनले त्यही प्रक्रियाबाट नामाकरणको विषयमा अगाडि बढाउने उनले गाउँलेसँग प्रतिबद्धता गरे ।
तिहार मनाउन गाउँ आएका मुख्यमन्त्री राई केही दिनदेखि आफ्नै जिल्लामा बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागि भई आजै धनकुटातर्फ प्रस्थान गरेकाछन् ।