पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान अध्यक्ष नेपालको निर्देशन

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिएकाछन् ।

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरेकाहुन्।

अध्यक्ष नेपालले भने, ‘तपाईंहरुमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटलमा गएर रक्सी नखाइ निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिन ।’

उनले रक्सी नखाँदा व्यक्तिको स्वास्थ्य राम्रो हुने र घर परिवार र समाजमा इज्जत बढ्ने भन्दै खराब बानी नबिसाउन आग्रह गरे । यस्तै अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे ।

उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गरे । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।नेपालले यसअघि आफ्नो पार्टीवाट गठवन्धन सरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि रक्सी नखान निर्देशन दिएका थिए ।