
भोजपुर — नेपाली कांग्रेस भोजपुरको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना सभापतिको उम्मेद्वार रहेकोमा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद वान्तवा र नन्दमणि राई बीच पुनः निर्वाचन हुने भएको हो ।
सभापतिका लागि विनोद बान्तवा, नन्दमणि राई र बालकृष्ण थापा प्रतिस्पर्धामा रहेकोमा कसैको पनि ५१ प्रतिशत मत प्राप्त नभएपछि पुःन निर्वाचन हुने भएको हो । निर्वाचनमा बान्तावाले चार सय १५, राईले तीन सय ९२ र थापाले तीन सय ६० मत प्राप्त गरे ।
सदरमुकामको स्थानीय टुँडिखेलमा भएको निर्वाचनमा कुलमतदाता एक हजार चार सय ५८ रहेकोमा एक हजार दुई सय २४ मत खसेको थियो । दुई सय ३४ ले मतदान गरेनन् । जसअनुसार सभापतिका लागि ५१ प्रतिशत करिब ६ सय १३ मत जरुरी छ ।
सभापतिको मतगणनामा एक हजार एक सय ६७ मत सदर र ६० मत बदर भएको थियो । अब, भोलि बिहानबाट बान्तवा र राईबीचमा पुनः निर्वाचन हुने जनाईएको छ ।