
काठमाण्डौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरू सक्रियरुपमा राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने वताएकाछन ।
आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउएकाहुन् ।
नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताउनुभयो । उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।
उनले भने, ‘नेपालमा जति पनि पार्टी छन्, सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन् । सबैभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई नागरिकको बीचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन । त्यस कारण म त के भन्छु भने शिक्षकहरू अझ सक्रिय भएर समाज सेवामा, सामाजिक रूपान्तरणका काममा, राजनीतिक रूपान्तरणका काममा लाग्नुपर्नेछ । प्राविधिक रूपमा तपाईँहरूलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक नागरिकको बीचमा काम गर्ने वातावरण बनाइन्छ । तपाईँहरू द्विविधामा नरहनु होला ।’
अध्यक्ष दाहालले शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि बताउए । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाइ छ ।