
काठमाडौँ – फिल्म नुमाफुङका निर्देशक नवीन सुब्बाले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । सामुदायिक लगानीमा उनले गाउँ आएको बाटोु निर्देशन गर्ने भएका हुन् । एक दशकपछि निर्देशनमा फर्किएका नवीनले गाउँमा बाटो आएपछि जनजीवनमा आएको परिवर्तनको कथामा यो फिल्म निर्देशन गर्दैछन् ।
टेलिश्रंखला दलनु र फिल्म गुडबाइ काठमाण्डुुपछि उनको यो निर्देशकीय कमब्याक हुनेछ । महेश राई र नवीनको पटकथामा तयार हुने फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, पर्सन राई, खनुमा राई, केशव राई, प्रमिसा राई, प्रेम सुब्बालगायतको अभिनय रहनेछ । फिल्मको छायांकन भोपजुरको दुर्गम गाउँ, बलंखा र संखुवासभामा गरिने बताइएको छ ।
विदेशी सिनिमेटोग्राफर मार्सिन क्याप्रोनलाई निर्माण टिमले फिल्म खिच्नका लागि अनुबन्धित गरेका छन् । उनीसँगै राज थापा काउचाले फिल्मलाई खिच्नेछन् । मार्सिन सम्बन्ध र भावनाहरुलाई मिहिन तरिकाले फ्रेममा खिच्नसक्ने सिमेटोग्राफरको रुपमा चिनिन्छन् ।
फिल्म घोषणा कार्यक्रममा फिल्मका प्रमुख कलाकार दायहाङ र पशुपतिले नवीन सुब्बाको फिल्ममा काम गर्न पाउनु खुसीसँगै चुनौतिपूर्ण रहेको बताए । मेन्छायम पिक्चर्सको प्रस्तुति रहने यो फिल्ममा आमोद राईको लगानी छ । नेपाली कला र संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नवीनको फिल्ममा आफू जोडिएको आमोद सुनाउँछन् ।
हङककङमा बस्ने नेपालीभाषीको समाजभित्र आफ्नो समाज बनाउनुपर्छ भन्ने महसुस भयो । कला, संगीत र फिल्ममार्फत् हामीले आफ्नो समाज बनाउन सक्छौं भन्ने कुरा महत्वपूर्ण लाग्यो । त्यससँगै त्यहाँको स्थानीय समुदायसँग अन्तरक्रिया बढाउन पनि यही कुराको आवश्यकता लाग्यो,अमोदले भने,हङकङमा हामीले कस्ता खाले नेपाली फिल्म देखाउने भन्ने कुरा खट्कियो ।
हाम्रो मौलिक संगीत उनीहरुलाई कसरी देखाउने । त्यो माध्यम नभएपछि हामीले फिल्म निर्माण गर्ने निर्णय गर्यौं । स्तरीय फिल्म जुन त्यहाँ पनि देखाउन सकियोस् । सामुदायको कथा भन्ने उदेश्यले फिल्ममा हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल, जर्मनी र नेपालबाट लगानी गर्ने व्यक्तिहरु जोडिएका छन् ।