
दिंला- भोजपुरको षडानन्द नगरपालिकाले बालाचतुर्दशी मेलाको अवसरमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरको केन्द्र दिंला बजारमा रहेको ऐतिहाँसिक भलिवल ग्राउण्डमा प्रतियोगिता आयोजना गरिने प्रतियोगिताकी संयोजक तथा नगरकी उप प्रमुख मेरिका राईले जानकारी दिईन ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख रुपैंया, शिल्ड, मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार ७५ हजार रुपैंया ,शिल्ड मेडल र प्रमाण पत्र, र सेमिफाईनल पुग्ने दुवै टीमले २५ २५ हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले जानकारी दिए ।
ऐतिहाँसिक दिंला बजारमा लाग्दै आएको बालाचतुर्दशीमेलाको आकर्षण बढाउन साथै भलिबल खेलको विकासको लागि अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने नगरपालिकाका प्रमुख विरबल राईले कार्तिक १४ मा षडानन्द नगरपालिकाको वडानम्वर ६ मा आयोजित खुल्ला पुरुष फुट्बल प्रतियोगिताको उद्घाटनको क्रममा घोषणा गरेका थिए ।
खेलमा १० जना खेलाडी, २ जना कोच र व्यवस्थापक सहभागि हुन पाउने, खेलाडी एउटै पालिका भित्रको हुनुपर्ने, खेल लिक कम नक आउटको आधारमा एफ. आई. भि.वि को नियम अनुसार खेलाईने नगर खेलकुद समितिका अध्यक्ष सिताराम गुरुंगले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का विभिन्न १५ वढि पालिकाका टीमको सहभागिता रहने आंकलन गरिएको नगर खेलकुद समितिका अध्यक्ष गुरुंगले खवरट्वीटलाई जानकारी दिए ।
षडानन्द नगरपालिकाको भलिवल टीमले प्रदेश नम्वर १ मा आयोजना गरिएका अधिकांश अन्तर पालिका स्तरिय प्रतियोगितामा उपाधि चुम्न सफल भएको छ । भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरंग, झापा , उदयपुर लगायतका जिल्लामा आयोजना गरिएका प्रतियोगिता नगरपालिकाको टीमले जितिसकेको छ भने हालै मोरंगमा आयोजना गरिएको भलिबल प्रतियोगिताको फाईनलमा बेलवारी नगरपालिकालाई हराउँदै उपाधि जितेको थियो ।