अन्तर पालिका खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आमचोक गाउँपालिकालाई

दिंला,१७ मंसिर– आयोजक षडानन्द नगरपालिका लाई स्तव्ध पार्दै आमचोक गाउँपालिकाले बालाचतुर्दशी मेलाको अवसरमा आयोजित अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ३ वटै सेट अत्यन्तै रोचक र प्रतिष्पर्धात्मक भएतापनि आमचोकले ३-० को सोझो सेटमा आयोजकलाई २८-२६,२५-२३ र २५-२१ अंकले हराउँदै उपाधि कव्जा गरेको हो ।

प्रथम भएको आमचोकले नगद १ लाख रुपैंया पुरस्कार को साथमा, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्थै दोस्रो भएको आयोजकले नगद पुरस्कार ७५ हजार रुपैंया,शिल्ड मेडल र प्रमाण पत्र, र सेमिफाईनलमा पराजित दुवै टीम राम प्रसाद राई गाउँपालिका र सभापोखरी गाउँपालिकाले २५-२५ हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी षडानन्द नगरापालिकाका प्रदिप श्रेष्ठ, उत्कृष्ट स्पमईकर आमचोकका रोमन वस्नेत, उत्कृष्ट सर्वर आमचोकका दिनेश तामांग, उत्कृष्ट डिफेन्स आमचोकका सन्तोष राई , उत्कृष्ट व्लकर आमचोककै डम्वर वस्नेत र उत्कृष्ट सेटर षडानन्दका दमन उदास घोषित भए । प्रतियोगिताका उत्कृष्ट खेलाडी प्रदिप श्रेष्ठले पुरस्कार स्वरुप नगद २ हजार रुपैंया मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे भने अन्य विद्यागत उत्कृष्ट खेलाडीहरुले नगद १५ सय रुपैया, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

१४ गतेवाट शुरु भएको प्रतियोगितामा भोजपुर र संखुवासभाका ९ टीमको सहभागिता रहेको थियो। लिगकम नक आउटको नियममा खेलाईएको प्रतियोगिता दिंला बजारको ऐतिहाँसिक खेलमैदानमा करिव एक दशक पछि आयोजना गरिएको हो । प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेकी नगरकी उपप्रमुख मेरिका राईले आउँदा दिनमा पनि नियमित रुपमा यस्ता प्रतियोगिता सञ्चालन गरिनुपर्नेमा जोड दिईन ।