ऐतिहासिक षडेश्वर सीताराम मन्दिर पुनः निर्माणका लागि शिलान्याश

दिंला,२१ पौष– भोजपुरको ऐतिहाँसिक स्थल दिंलाको षडेश्वर सीताराम मन्दिर पुनः निर्माणको लागि शिलान्याश भएको छ । १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले वि.सं १९५६ मा निमार्ण गरेको षडेश्वर सीताराम मन्दिरको आज विहान षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शिलान्याश गरेकी हुन् । शिलान्यास कार्यक्रममा षडानन्द सिताराम गुठीका साथै विभिन्न संघ संस्थाका पदाधिकारी तथा स्थानियवासीको उपस्थिति रहेको थियो ।

अष्ट दिक्पालको पुजा गरि शिलान्याश गरिएको षडानन्द सीताराम गुठीका धार्मिक समितिका संयोजक हरि भित्रिकोटीले जानकारी दिए । मन्दिरको पुनः निर्माणको लागि पुरातत्व विभागबाट २ करोड ५४ लाख बजेट विनियोजन गरेको छ ।मन्दिर निर्माणको प्रदेश निर्माण सेवा प्रा.लिले १ करोड ४३ लाखमा ठेक्का पाएको छ । मन्दिरको पुनः निर्माण २०७९ असार मसान्तभित्रमा सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।

षडेश्वर सीताराम मन्दिर षडानन्द अधिकारीले १९५६ मा निर्माण गरेकोमा १९९० सालको भुकम्पले क्षति पुर्याएर जीर्ण वनेपछि २०२९ सालमा पुनः निर्माण गरिएको थियो । २०२९ सालमा वनाईएको मन्दिर २०७२ सालको भुकम्पले क्षति पुर्याउनुको साथै पुरातात्विक महत्वको नभएको कारण पुनः निर्माण गर्न लागिएको षडानन्द सिताराम गुठीले वताएको छ । पुनः निर्माण गर्न लागिएको मन्दिर चुना, सुर्की, ढुंगा, काठ प्रयोग गरेर शिखर शैलीको निर्माण गरिने धार्मिक समितिका संयोजक भित्रिकोटीले जानकारी दिए ।

यस मन्दिरमा बर्षमा २ पटक लाग्ने मेला बालाचर्तुदशी र रामनवमी मेलामा नेपालका विभिन्न क्षेत्रका साथै भारतसम्मका भक्तजनहरुले दर्शन गर्ने गरेकाछन् । ऐतिहासिक मन्दिरको पुनः निर्माणपछि यस क्षेत्रको पर्यटन विकासमा समेत सहयोग पुग्ने षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए ।