दिङ्ला- भोजपुरको षडानन्द नगरपालिकामा समावेशि शिक्षाकालागि शिक्षक तथा सहयोगी कर्मचारीहरुलाई एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । प्रदेश एक को सामाजिक विकास मन्त्रालय, षडानन्द नगरपालिका र करुणा फाउण्डेसनको संयुक्त आयोजनामा स्थानिय अरुण माविको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
तालिममा समावेशि शिक्षा, अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँचको स्थिति, अपाङ्गता भएका बालबालिकाहरुको विद्यालय भर्नामा आउने बाधा अवरोधहरु, अपाङ्गता भएका बालबालिकाहरुकाहरुलाई शिक्षामा समाहित गर्न गर्नुपर्ने तयारीहरु, नेपालमा समाहित शिक्षाको व्यवस्था, समावेशि शिक्षाका लागि सरोकारवालाहरुको भूमिका लगायतका विषयमा षडानन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मणिराम तामाङ्ग र अरुण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक श्री कृष्ण बोगटीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा करुणा फाउण्डेसन भोजपुरका प्रमुख निश्चल घिमिरे र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले अपाङ्गता र अपाङ्गताका प्रकारका वारेमा स्पष्ठ पारेका थिए ।
षडानन्द नगरपालिकाका प्रमुख विरवल राईको अध्यक्षतामा सञ्चालित तालिममा जनप्रतिनिधि,षडानन्द नगरपालिका भित्रका विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रद्यानाध्यापक, शिक्षक तथा नगरपालिकाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, करुणा फाउण्डेसनका प्रतिनिधि लगायत ८० जनाको सहभागिता रहेको स्वाथ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा आफ्ना विचार राख्दै नगर प्रमुख विरवल राईले विद्यालयवाटै समाज परिवर्तन हुने वताए । उनले समाज परिवर्तनमा शिक्षकले ईमान्दारिताका साथ आफ्नो ठाउँवाट भुमिका निर्वाह गर्न निर्देशन दिए । प्रमुख राईले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, पुर्वाधार विकास लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको समेत दावि गरे ।
तालिम उपस्थित सहभागिहरुले तालिम फलदायि भएको प्रतिक्रिया दिए । तालिममा सहभागि शिक्षक प्रेम भुजेलले नगरपालिकाले लामो समयपछि यस्तो प्रभावकारी तालिम आयोजना गरेको वताए । उनले आफ्नो लागि तालिम फलदायी भएको र त्यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाए ।