भोजपुर,१३ फागुन- भोजपुरको षडानन्द नगरपालिका ६ ले सुत्केरी तथा गर्भवतीलाई पोषण र जग्गादातालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि वडाले वडा भित्रका सुत्केरी तथा गर्भवतीलाई पोषण र वडा भवन निर्माणको लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान कार्यक्रम गरेको वडा सचिव उपेन्द्र भट्टले जानकारी दिए ।
वडा नम्वर ६ ले आफ्नो वडा भित्रका २० सुत्केरी र १७ गर्भवतीलाई जनही १ किलोग्राम हर्लिक्स, १ किलोग्राम घ्यु र एक सेट वच्चाको सरसफाईको सामान वितरण गरेको हो । यस्तै कार्यक्रममा वडाको निर्माणाधिन भवनको लागि ५ लाख वरावरको निःशुल्क जग्गा दान गर्ने जग्गादाता चन्द्रमाया श्रेष्ठ र दश लाख वरावरको निःशुल्क जग्गा दान गर्ने जग्गादाता कृष्ण कुमार श्रेष्ठलाई वडाले ताम्रापत्र र दोसल्ला सहित सम्मान गरेको छ ।
गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सम्वन्धी जानकारी दिन तथा नियमित स्वास्थ्य जाँच गर्नको लागि स्वास्थ्य संस्था जान उत्प्रेरित गर्नको लागि गत बर्षवाट पोषण कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष सुजन राईले जानकारी दिए । अध्यक्ष राईले जग्गादाताहरुले जग्गा दान गरि वडा भवन निर्माणको लागि सहयोग गरेकोमा वडाको तर्फवाट धन्यवाद प्रकट गरे । तस्वीरः नगेन्द्र राई